© २०२३
काठमाडौं,२४ माघ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारी जग्गा हडप्ने र सहकारीमार्फत ठगीमा संलग्नहरु जतिसुकै शक्तिशाली भए पनि दण्डित हुनुपर्ने बताएका छन् ।
बुधबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै उनले गलत गर्नेहरु जो सुकै भए पनि कारबाहीको दायरामा आउनुपर्ने बताएका हुन् । जतिसुकै राजनीतिक शक्ति होस् कि आर्थिक शक्ति होस् नेपालको सार्वजनिक जग्गा कसैले हडप्छ भने सजाय पाउनुपर्ने थापाको माग छ ।
नागरिकता किर्ते लगायतका विषयमा पनि शक्तिको दुरुपयोग हुन नहुने उनको भनाइ छ । सहकारी ठगी प्रकरणमा पनि सरकारले गलत गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनको माग छ ।
सुशासन कायम गर्न सरकारले गलत काम गर्नेको शक्ति र पदीय हैसिय हेर्न नहुने थापाले बताए । सर्वसाधारण नागरिकले दण्ड पाउने हरेक अपराधमा शक्तिशालीहरुले पनि दण्ड भोग्नुपर्ने बताए । सुशासनको विषय बोलीमा नभइ व्यवहारमा देखिनुपर्ने र सुशासनका लागि काम भएको जनताले महसुस गर्नुपर्ने उनको भनाइ छ ।
सरकार पूर्वाग्रही भएर प्रस्तुत हुन नहुने र सरकारको असल काममा संसदले सहयोग गनुपर्ने पनि थापाले बताए । सरकारले लोकरिझ्याइँका लागि प्रहरी प्रशासन र सरकारी निकायहरुको दुरुपयोग गर्न नहुने पनि उनको भनाइ छ ।