© २०२३
बुटवल,२३ माघ । तिलोत्तमा नगरपालिका वडा नंं ६ ले जेष्ठ नागरिकको निशुल्क आंखा चेकजांच गरेको छ । ‘वडा अध्यक्षसँग जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम’ अन्तर्गत आनन्दवन स्वास्थ्यचौकीमा निःशुल्क आँखा शिविर भएको हो ।
तिलोत्तमा वडा नं ६ को आयोजना र लायन्स क्लब अफ बुटवल देउराली सहआयोजक रहेको शिविरमा १९३ जनाले आंखा चेकजांच गराएका छन् । ती मध्ये १५० जनालाई चश्मा वितरण गरिएको र १५ जनामा मोतिबिन्दु भेटिएको र उनीहरुलाई लायन्स आंखा अस्पतालमा निशुल्क शल्यक्रिया गरिने स्वास्थ्यचौकीका प्रमुख ज्ञानप्रसाद पौडेलले जानकारी दिए ।
आंखा चेकजांच गरेका सबैलाई औषधि वितरण गरिएको लायन्स आंखा अस्पतालका प्राविधिक मनोहर भट्टराईले जानकारी दिए ।
शिविर उद्घाटन गर्दै नगरप्रमुख रामकृष्ण खांणले मानवको सेवा र त्यसमा पनि जेष्ठ नागरिकको सेवा नै सर्वोत्तम धर्म भएको बताए । आँखा मानव जीवनको सबैभन्दा महत्वपूर्ण अंग भएकाले यसको सुरक्षालाई सबैले ध्यान दिनुपर्ने सुझाव दिंदै नगर प्रमुख खांणले निशुल्क आंखा शिविरले जेष्ठ नागरिक लाभान्वित भएको बताए । नगरपाकिलाले भौतिक विकाससँगै मानवीय विकासलाई पनि उत्तिकै प्राथमिकता दिएको भन्दै उनले अब सेमरा र आनन्दवन स्वास्थ्य चौकीमा छिटै भिडियो एक्सरे सेवा शुरु हुने बताए । तिलोत्तमाका १७ वडा मध्ये वडा नंं ६ का वडाध्यक्षले स्वास्थ्यका क्षेत्रमा सबैभन्दा राम्रो काम गरिरहेको नगरप्रमुख खांणले बताए ।
तिलोत्तमा ६ का वडाअध्यक्ष गणेश पाठकले आफूले वडावासी र नगरवासीले पाउनुपर्ने सेवा सुविधालाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको बताए । आफूले पाउने वडाध्यक्षको पारिश्रमिक नलिएर वडा कार्यालयमा नगरवासीलाई निशुल्क सेवा दिन दुई जना लेखापढी कर्मचारी नियुक्त गरेको बताए ।
उनले आगामी फागुनदेखि वडामा हरेक १५/१५ दिनमा विशेषज्ञ डाक्टरसहित जेष्ठ नागरिकको घरदैलोमा पुगेर स्वास्थ्य चेकजांच र परामर्श तथा औषधि वितरण गरिने बताए । आफूले जेष्ठ नागरिकलाई स्वस्थ खुशी बनाउने उद्देश्यले निशुल्क स्वास्थ्य चेकजांचका लागि ७ लाख रुपैयां वजेट छुट्टाएको बताए । कार्यक्रममा लायन्स क्लबका अगुवा बालाराम भट्टराई, लायन्स क्लब अफ बुटवल देउरालीका अध्यक्ष दीपक पन्थी, वडा सचिव कृष्ण बहादुर क्षेत्रीले बोल्दै मानवीय सेवाका क्षेत्रमा स्थानीय सरकार र सामाजिक संघसंस्था र क्लबहरुबीच सहकार्य हुनुपर्नेमा जोड दिए ।