© २०२३
बुटवल,२२ माघ । सहकारी ‘ठगी’ प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेलगायत विरुद्ध वचतकर्ताले दर्ता गर्न लगेको निवेदन प्रहरीले तीनपटकसम्म फिर्ता गरिदिएको छ । पोखरामा रहेको सूर्यदर्शन सहकारीका पीडितहरुको जाहेरी कास्की प्रहरीले लिन नमानेको छहो । संघर्ष समितिका संयोजक किरण श्रेष्ठका अनुसार रवि लामिछाने लगायत ८० जना विरुद्ध दिन लागिएको जाहेरी प्रहरीले लिन नमानी पीडितहरुलाई फर्कादिएको हो । प्रहरीले कहिले पारिवारिक विवरण नखुलेको भनेर त कहिले सहकारी ऐन अन्तर्गत भएन भनेर फर्काउने गरेको श्रेष्ठले बताए ।
उनले छानबिन समितिको प्रतिवेदन पढेर सम्भावित दोषीहरुविरुद्ध जाहेरी दिन लागेको बताएका छन् । प्रहरीले जाहेरी लिन अनेक बहाना खोजेपछि पीडितहरुले कम्पनी र पारिवारिक विवरण प्राप्त भएकाविरुद्ध मात्रै अर्को जाहेरी बनाएका छन् ।
पीडितहरुले पूरक अनुसन्धानको माग पनि गरेका छन् । उनीहरुले जिल्ला प्रशासन, पोखरा महानगरपालिका, पोखराको सहकारी महाशाखा, उच्च अदालत, जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालयमा पूरक अनुसन्धानको मागपत्र बुझाएका छन् ।
३ सयभन्दा बढीलाई प्रतिवादी बनाएर अनुसन्धान अघि बढाउनुपर्ने सूर्यदर्शन सहकारी पीडितहरुको माग छ । ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्न सूर्यदर्शन सहकारीबाट पैसा लगेको र उक्त टेलिभिजनको प्रवन्ध निर्देशकको भूमिकामा त्यतिबेला रवि लामिछाने रहेका कारण उनी पनि छानबिनको दायरामा आउनुपर्ने पीडितको भनाइ छ ।
उक्त सहकारीबाट करोडभन्दा बढी रकम चलाउने ३० जनाभन्दा बढी छन् ।
सूर्यदर्शनमा १ हजारभन्दा तल बचत भएका १० हजार ६ सय ५४ वटा खातामा ३१ लाख ८६ हजार रकम छ । १ हजारदेखि ९ हजार ९ सय ९९ सम्म बचत भएका ४ हजार ८ सय ३३ वटा खाताको कुल रकम १ करोड ५२ लाख रुपैयाँ छ । १० हजारदेखि १ लाखसम्म १ हजार ९ सय ४२ वटा खातामा ६ करोड ६८ लाख रकम छ भने १ लाखदेखि १० लाख ९ सयसम्म जम्मा भएका ७० वटा खातामा २९ करोड ९३ लाख, १० लाखदेखि १ करोडसम्म जम्मा भएका २ सय ८५ वटा खातामा ६६ करोड ७० लाख र १ करोडभन्दा माथि जम्मा भएका १६ वटा खाता छन् । यस्तो रकम ३० करोड ३७ लाख जम्मा भएको देखिन्छ ।