© २०२३
बुटवल, १८ माघ । अर्बपति सांसद विनोद चौधरीका भाइ व्यवसायी अरुण चौधरी पक्राउ परेका छन् । बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी को टोलीले उनलाई काठमाडौंको लैनचौरबाट पक्राउ गरेको हो ।
बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सम्बन्धी विवादमा अनुसन्धानका लागि उनलाई पक्राउ गरेको सीआईबी स्रोतले जनाएको छ ।
नेपाली कांग्रेसका सांसद तथा विवादास्पद व्यापारी विनोद चौधरीले बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको घटनामा उनका भाइ अरुण पक्राउ परेका हुन् ।
३७ वर्षअघि दाजु विनोदले हडपेको उक्त जग्गामा आफ्नो स्वामित्व नै नभएका अरुणलाई पक्राउ गरेपछि यसमा राजनीतिक चलखेलको आशंका गरिएको छ । सो जग्गाको सम्पूर्ण स्वामित्व ८ वर्षअघि नै विनोदले आफ्नो एकल बनाइसकेका थिए ।
अहिले सोही जग्गामा सिजी चाँदबाग रेसिडेन्सी प्रालि हुँदै आफू अध्यक्ष रहेको चौधरी ग्रुप सिजीद्वारा चाँदबाग स्कूल चलाएका छन् ।