© २०२३
तिलोत्तमा, १७ माघ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ स्थित सामूहिक वचत तथा ऋण सहकारी संस्था लिमिटेडले विभिन्न कार्यक्रम गरी ३१ औं स्थापना दिवस मनाएको छ ।
बुधबार आयोजित मूल समारोहको प्रतिनिधि सभा सदस्य बासुदेब घिमिरेले उद्घाटन गरे । सोही अवसरमा बोल्दै उनले अर्थतन्त्र चलायमान बनाउन सहकारीको भूमिका महत्वपूर्ण रहेको बताए । पछिल्लो समय केही सहकारी संस्थाले बदमासी गर्दा राम्रा काम गरेका अरु सहकारीहरुलाई हेर्ने नजर फरक रहेकोले यसलाई चिर्न सहकारीहरु सदस्य केन्दीत भएर काम गर्नुपर्ने बताए ।
सदस्य केन्द्रीत नभएका सहकारी समस्यामा परेको बताउँदै सहकारीले बचत संकलन सँगै उत्पादनमुलक क्षेत्रमा लगानी गरी आर्थिक समृद्धिसँग जोडिनुपर्ने बताए ।
संस्थाका अध्यक्ष सुरेन्द्र बर्माले अधिकांश कर्जा व्यवसाय र उद्योग क्षेत्रमा लगानी गर्ने गरेको बताए । कृषिजन्य उद्यम, व्यवसायका अतिरिक्त सामाजिक कार्य र शैक्षिक क्षेत्रमा बढी कर्जा लगानी हुने गरेको उनको भनाई थियो । मासिक दुई सय रुपैयाँ बचत संकलनबाट सुरु भएको यो सहकारी अहिले शेयर पुँजी र कारोबारका हिसाबले लुम्बिनी प्रदेशकै सबैभन्दा ठूलो शेयर पुँजी र कारोबार हुने सहकारीका रुपमा स्थापित भएको उनले बताए ।
कार्यक्रममा प्रदेश सहकारी संघका अध्यक्ष प्रकाश भट्टराइले प्रदेशबाहीर दर्ता भई सञ्चालनमा रहेका केही सहकारीले बदमासी गर्दा सबैलाई एउटै नजरले हेर्न नहुने बताए ।
बचत तथा ऋणको कारोबार गर्ने गरी दर्ता भएको यो नै रुपन्देहीको पहिलो सहकारी हो । सहकारीका प्रमुख कार्यकारी अधिकृत देवराज ज्ञवालीका अनुसार सहकारीले दुई अर्ब ५१ करोड ८० लाख रुपैयाँ ऋण लगानी गरेको छ । सहकारीले उत्पादनमूलक क्षेत्रमा करीव ६० प्रतिशत ऋण प्रवाह गरेको जनाएको छ ।
रुपन्देही जिल्लाभरि कार्यक्षेत्र रहेको यो सहकारीमा अहिले जम्मा सदस्य १० हजार ८ सय जना रहेका छन् भने शेयर पुँजी ३२ करोड ९० लाख तथा जगेडा कोष २३ करोड ६५ लाख र अन्य कोषहरु १३ करोड १० लाख रहेको छ । सहकारीको जम्मा निक्षेप दुई अर्ब ४६ करोड ८३ लाख रुपैयाँ रहेको छ । सहकारीमा रहेको निक्षेप रकममध्ये जम्मा एक अर्ब ६० करोड ६५ प्रतिशत नियमित बचतको अंश रहेको सहकारीका सचिव मिनप्रसाद पोख्रेलले बताए ।
संस्थाको तिलोत्तमा नगरपालिका वडा नं. ३ शंकरनगरमा आफ्नै सुविधा सम्पन्न ३ तल्ले पक्की भवन रहेको छ भने तिलोत्तमा वडा नं ७, भलवारी र रुपन्देहीकै फर्साटिकरमा सेवाकेन्द्र सञ्चालनमा ल्याएको छ । जिल्लामै उत्कृष्ट सहकारीको रुपमा पटक–पटक पुरस्कार र सम्मान पाएको सहकारीका सूचना अधिकारी ईश्वरी मरासिनीले बताए ।
आधुनिक बैंकिङ्ग सेवाअन्तर्गत एटिएम, मोबाइल बैंकिङ्ग, मिस्डकल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग क्यूआर कोड, कनेक्ट आइपिएसलगायतका सेवाहरू सञ्चालनमा ल्याएको छ ।
आधुनिक बैंकिङ्ग सेवाअन्तर्गत एटिएम, मोबाइल बैंकिङ्ग, मिस्डकल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग क्यूआर कोड, कनेक्ट आइपिएसलगायतका सेवाहरू सञ्चालनमा ल्याएको छ ।
वार्षिकोत्सवकै अवसरमा सहकारीले सेवा केन्द्र विस्तार गर्ने र विस्तारित मञ्चमार्फत विभिन्न ठाउँमा वित्तीय साक्षरताका कक्षा सञ्चालन गरेको थियो । मंगलबार सम्पन्न भएको रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका थिए । यसैगरी वक्तृत्वकला प्रतियोगितामा २३ वटा विद्यालयको सहभागिता रहेको थियो । कार्यक्रममा वक्तृत्वकलामा उत्कष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको संस्थाका सचिव मिनप्रसाद पोख्रेलले बताए ।