© २०२३
बुटवल,१७ माघ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले टिआरसी विधेयक आउंदो संसद अधिवेशनबाट टुंगो लगाउने बताएका छन् ।
नेपाल प्रेस युनियन रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री गुरुङले टिआरसी विधेयकलाई कसेसम्म सहमतीबाट र नभए प्रकृयाबाट टुंगो लगाउने सहमति दलहरुबीच भएको पनि बताए । उहाँले टिआरसी विधेयक र प्रहरी सम्बन्धि विधेयकलाई टुंगोमा पुर्याउनको लागि शिर्षतहमा सहमतिको प्रयास भईरहेको बताउँदै सहमति हुन नसकेपनि प्रक्रियाबाट अगाडि बढाउने दावी गरे ।
संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधयेक सहमतिकै आधारमा टुंगो लगाउनेगरी आफू क्रियाशील रहेको बताउँदै उनले यसमा केही विषयमा मात्रै मतभिन्नता रहेको र अब टुंगोमा पुग्नुपर्ने बताए ।
नेपाली काँग्रेसका उपसभापति समेत रहेका मन्त्री गुरुङले राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा भएको क्रसभोटले गठबन्धनभित्र तरंग ल्याए पनि यसले खासै असर नपार्ने दाबी गरे।
उनले तत्काल मन्त्रिपरिषद् पुनःगठनको सम्भावना नरहेको पनि बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्री फेर्न खोजेपनि अहिले मन्त्रीपरिषद परिवर्तन गरिहाल्ने परिस्थिति नभएको उनले बताए । यहि माघको २२ गतेदेखि बस्ने हिउँदे अधिवेशनलाई सरकारले विधेयक अधिवेशनको रुपमा अगाडि बढाएको बताउँदै उक्त विधेयक अधिवेशनमा टिआरसी विधेयक, प्रहरी, निजामती कर्मचारी लगायतका संविधान कार्यान्वयनसंग जोडिएका २०–२५ वटा विधेयक पेश गर्ने तयारी भएको जानकारी गराए।