© २०२३
बुटवल,१५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्ने बताएका छन्।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौं सभालाई सोमबार सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन्।
प्रधानमन्त्री दाहालले नेपाल उच्च शिक्षाको हब बन्ने महत्त्वपूर्ण सम्भावनाको क्षेत्र पनि भएको बताए ।
उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनका लागि विदेशबाट पनि विद्यार्थी आउन थालेको जानकारी पाउँदा आफूलाई खुसी लागेको बताए।
आगामी दिनमा प्रतिष्ठानले थप प्रगति गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री दाहालले प्रतिष्ठानबाट कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका अति पिछडिएका क्षेत्रका जनतालाई प्रत्यक्ष सेवा प्रवाह हुनका साथै दक्ष जनशक्ति उत्पादन पनि भइरहेको बताए।
देश र जनतालाई अप्ठ्यारो परेको अवस्थामा प्रतिष्ठानले महत्त्पूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले आगामी दिनमा सेवा प्रवाहलाई थप सरल, सहज र गुणस्तरीय बनाउनुपर्नेमा जोड दिए।
प्रधानमन्त्रीले औषधि उत्पादनका लागि आवश्यक गृहकार्य गर्नसमेत प्रतिष्ठानलाई निर्देशन दिए।
साधनस्रोतको अभावका बीचमा रहेर प्रतिष्ठानले राम्रो काम गर्दै आएको उल्लेख गर्दै प्रधानमन्त्री आगामी दिनमा कर्णालीको अथाह सम्भावनालाई सदुपयोग गर्ने योजनामा सरकारले सघाउने उल्लेख गरे।