© २०२३
बुटवल,१३ माघ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले कांग्रेसले आफूहरुलाई पटक पटक धोखा दिएको आरोप लगाएका छन् । हालै सम्पन्न कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचन परिणामलाई लक्षित गर्दै पुनले कांग्रेससँगको गठबन्धनबारे गम्भीर समीक्षा गर्नुपर्ने अवस्था आएको बताए।
रोल्पामा माओवादी जनप्रतिनिधि र जिल्ला स्तरीय नेताहरूलाई प्रशिक्षण दिँदै पुनले कांग्रेसले विश्वास गुमाएको टिप्पणी गरे । कांग्रेससँगको गठबन्धनबारे गम्भीर समीक्षा गर्नुपर्ने अवस्थामा माओवादी केन्द्र पुगेको उनले बताए ।
हरेक चुनावमा माओवादीले इमान्दारपूर्वक कांग्रेसलाई मत दिइराख्ने अनि कांग्रेसले माओवादीका उम्मेदवार हराइराख्ने क्रम कहिलेसम्म चल्ने हो भन्दै उनले गम्भीर समीक्षा गर्ने बेला आएको बताए ।
यसअघि विभिन्न प्रकरणमा कांग्रेस नेतृत्वले पार्टीभित्रको गुटबन्दी र शक्ति संघर्षलाई कारण देखाउने गरेको भन्दै पुनले यो पटक त्यो मात्र नभएको बताए । कोशीमा समझदारी विपरीत एमालेसँगको गठजोडमा केदार कार्कीलाई कोशीको मुख्यमन्त्री बनाएर पनि कांग्रेसले धोका दिएको पुनले बताए ।