© २०२३
काठमाडौं,९ माघ । नेकपा एकीकृत समाजवादीले विधान हेरफेर गर्न यही माघ १४ र १५ गते राष्ट्रिय सम्मेलन काठमाडौंमा आह्वान गरेको छ।
पार्टीको राष्ट्रिय महाधिवेशनमा दस्तावेज मस्यौदासम्बन्धी छलफलका लागि सम्मेलन गर्न लागिएको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए।
पार्टीको आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण तथा कार्ययोजनामा केन्द्रित रहने बैठकमा पार्टी सुदृढीकरणका साथै देशभर आधारभूत तहसम्म संगठन स्थापित गर्न कार्ययोजना सम्मेलनमा बनाइने छ।
पार्टीले विधानको मस्यौदा तयार पार्न उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ। सम्मेलनले प्रदेश, क्षेत्र र भूगोलको सन्तुलित नेतृत्व तथा कानुनी अस्पष्टतालाई मिलाएर आवश्यक स्थानमा नेताहरूको जिम्मेवारी तोक्ने उपमहासचिव खतिवडाले जानकारी दिए।
पार्टीको पदाधिकारी, केन्द्रीय कमिटीको काम, कर्तव्य तथा अधिकारको बाँडफाँट गर्ने सम्मेलनले पार्टी नेतृत्वका लागि उमेर, कार्यकाल, संगठन निर्माणमा गरेको योगदानलगायतका आधारमा मापदण्ड तय गर्ने छ।
सम्मेलनले मस्यौदा अनुमोदन गरेपछि पार्टीले त्यसैका आधारमा आगामी जेठ पहिलो सातामा पार्टीको महाधिवेशन गर्ने छ। पार्टी सदस्यता नवीकरण तथा वितरण अभियानका रूपमा अगाडि बढाउनुका साथै जिल्लास्थित समाजवादी मोर्चाको बैठक र एजेण्डाको बारेमा समेत सम्मेलनमा छलफल हुने खतिवडाले जानकारी दिए।