© २०२३
बुटवल,७ माघ । अत्यधिक चीसो बढेपछि बुटवल उपमहानगरपालिकाले आजदेखि तीन दिन विद्यालयमा जाडो विदा दिएको छ ।
चीसोका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने संभावनालाई मध्यनजर गरी माघ ७ देखि ९ गतेसम्म तीन दिन विद्यालयमा जाडो विदा दिने निर्णय गरेको उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले जानकारी दिए । उपमहानगर भित्रका ३४ सामुदायिक, ५९ वटा संस्थागत,५ धार्मिक र ९ वटा मन्टेश्वरी सहित सबै विद्यालयमा माघ ७ गतेदेखि ९ गतेसम्म विदा दिइएको खनालले बताए ।
बुटवलमा पुर्व प्राथमिक तहदेखि कक्षा १२ सम्म ६७ हजार २ सय ५६ जना विद्यार्थी अध्ययनरत रहेका खनालले जानकारी दिए ।
बुटवलले जाडो विदा दिएपनि रुपन्देहीका अन्य पालिकामा जाडो विदा नदिइंदा चीसोले विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्ने र पठन पाठन प्रभावकारी नहुने अवस्था भएपनि अन्य पाकिलाले विदा नदिएकोमा अभिभावकले गुनासो गरेका छन् ।
बुटवलले माघ ५ गते नै विदा दिने निर्णय गरेपछि तिलोत्तमाले पनि माघ ७ देखि १० गतेसम्म विदा घोषणा गरेको छ ।
देवदहका अभिभावक गुमानसिंह कुंवरले पनि अत्यधीक चीसो बढेको अवस्थामा पालिकाले विद्यालयमा विदा दिनुपर्नेमा किन ढिला गरेको भन्ने प्रश्न गरेका छन् ।
Photo : File