कपिलवस्तु, ५ माघ । जिल्लाको महाराजगंज नगरपालिकाका २ सय बिपन्न परिवारलाई न्यानो लुगा दिईएको छ । शितलहरका कारण जनजिवन प्रभावित हुदै गर्दा कतार च्यारिटीको आर्थिक सहयोग तथा लुम्बिनी एकिकृत बिकास संस्था (लिडो नेपाल) को आयोजनामा भएको कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले सो सामाग्री बिपन्न परिवारलाई हस्तान्तरण गरे । समाज कल्याण परिषद र महाराजगंज नगरपालिकाको समन्वयमा महाराजगंज नगरपालिका वडा नं. ९ मा कार्यक्रमको आयोजना गरिएको हो ।
बिपन्नलाई बितरण गरिएको “न्यानो लुगा उपहार” मा प्रति परिवार ८ हजार बढि मुल्य पर्ने सामाग्री छन । बितरित ८ प्रकारका सामाग्रीमा कम्मल, फाईबर सिरक, पिफार्म, न्यानो तन्ना, पछ्यौरी, थर्मस, तातो रबर ब्याग र सुत्केरी आमा तथा शिशुका लागि न्यानो कपडा रहेको थियो ।
शित लहरका कारण समस्यामा परेका नागरिकलाई राहतका लागि मन्त्रालयस्तरकै पहलमा कार्यक्रम तय गरि बितरण गरिएको मन्त्री आचार्यले जानकारी दिए । उनले सहयोगी निकाय कतार च्यारिटी र आयोजक संस्था लिडो नेपाललाई धन्यबाद दिए । आफ्नो निर्वाचन क्षेत्रमा अन्य बिकासका कार्यक्रम र मानविय सहयोग ल्याउन तत्पर रहेको उनको स्पष्तोक्ति थियो । तत्काल २ सय अति बिपन्न परिवारलाई न्यानो कपडा बितरणको कार्यक्रम ल्याईए पनि मन्त्री आचार्यले अन्य क्षेत्रका कार्यक्रमको लागि पहल गर्दै आएको लिडो नेपालका अध्यक्ष समेत रहेका पुर्व साँसद अतहर कमालले जानकारी दिए । मन्त्री आचार्य अध्यक्ष रहेको समाज कल्याण परिषदले जिल्लामा मानविय सहयोगका कार्यक्रम ल्याउन निरन्तर पहल गर्दै आएको उनले बताए ।
महाराजगंज नगरपालिकामा मानविय सहयोग सगै अन्य बिकासका कार्यक्रमलाई समेत मन्त्री आचार्यले प्राथमिकतामा राखेको महाराजगंज नगरपालिकाका प्रमुख अब्दुल कलाम खाँले बताए । “मन्त्रीजिले महाराजगंज र यो निर्वाचन क्षेत्रको बिकासलाई नै प्राथमिकता दिनु भएको छ । सेमरी हुदै शान्ति नगर पुग्ने बाटो समेत छिट्टै निर्माण हुदैछ ।” उनले भने । नगरले किचड मुक्त र छप्पड मुक्तको योजना सञ्चालन गरेको स्मरण गराउदै खानेपानी, सिचाई र शिक्षाका योजना समेत प्राथमिकतामा पर्नेमा उनले बिश्वास व्यक्त गरे । मन्त्री आचार्यको अगुवाई तथा पालिकाको समन्वयमा लिडो नेपालले शितलहरका बेला बिपन्न परिवारलाई गरेको सहयोग प्रशंसनिय भएको महाराजगंज नगरपालिका वडा नं. ९ का अध्यक्ष फरिद खाँले बताए ।
कतार च्यारिटीको सहयोगमा लिडो नेपालले दिन थालेको न्यानो लुगा वास्तविक बिपन्न परिवार सम्म पुगेको लिडो नेपालकी कार्यकारी निर्देशक सुनिता बेल्बासेले बताईन । मन्त्री आचार्यको पहलले यस पालिकाका बिपन्न परिवारले राहत पाउने बातावरण सुनिश्चित भएको उनले जानकारी दिईन । न्यानो लुगा पाएकी अनारपाती कोहारले जाडो न्यानो लुगा पाउदाँ खुसी लागेको बताईन । पाएको न्यानो लुगाले जाडोबाट जोगिन सहज हुने उनको बुभाई छ । जाडो र शितलहरमा न्यानो लुगा दिएर ठुलो गुन लगाएको अर्का लाभग्राही साहबुत धोबीले बताए ।