© २०२३
गुल्मी, ४ माघ । गुल्मी जिल्लामा बन्यजन्तुबाट क्षति पुगेका पीडित परिवारले गत दुई वर्षदेखि राहत रकम पाउन सकेका छैनन । वन्य जन्तुबाट हुने राहत सहयोग निर्देशिका बमोजिम सरकारले वन्यजन्तुको आक्रमणबाट हुने अङ्गभङ्ग एवं मानवीय क्षति, पशुधन, घर/गोठ र खाद्यान्न बालीको क्षतिको राहत रकम उपलब्ध गराउने व्यवस्था गरेको छ । तर गुल्मी जिल्लामा वन्यजन्तुको आक्रमणबाट भएको पशुधनको क्षति र बालिनाली क्षतिका पीडितहरूले अझै राहत नपाएको गुनासो गरेका छन । पीडित परिवारहरूले राहतका लागि स्थानीय सव डिभिजन कार्यालय, पालिका र प्रहरी प्रतिबेदनको आधारमा डिभिजन वन कार्यालयमा निवेदन दिदैं आएका छन ।
दुई वर्ष बित्न लाग्दा पनि आफूले अझै बन्यजन्तुबाट भएको क्षतिको राहत रकम कार्यालबाट पाउन नसकेको छत्रकोट गाउँपालिका ४ का विष्णु प्रसाद पन्थले बताए । पन्थ जस्तै जिल्लाको रेसुङ्गा नगरपालिका ३ की चित्रकला थापाको समस्या पनि उस्तै छ । “बाघले बाख्रा खाईदिएपछि राहत मिल्छ भनेर वन कार्यालयमा निवेदन दिएको पनि धेरै समय भयो, अझैसम्म केही मिलेको छैन,” उनले भनिन ।
प्रदेश वन निर्देशनालय मार्फत डिभिजन वन कार्यालयले भुक्तानी दिने भनि नेपाल सरकारले निर्णय गरिसकेको छ । तर निर्णय गरेपनि
हालसम्म राहत रकम सम्बन्धी बजेट डिभिजन वन कार्यालय गुल्मीमा आएको छैन । यस आर्थिक वर्षको असार महिनापछि कार्यविधि परिवर्तन भएपनि असार मसान्त भन्दा अघिसम्म बाँके राष्ट्रिय निकुञ्जवाट राहत रकम उपलब्ध गराउँदै आइरहेको थियो । निर्देशिका परिवर्तन भएपछि प्रदेशले जिल्लामा रकम पठाउने भने पनि हालसम्म उक्त रकम अझै डिभिजन वन कार्यालयमा आएको छैन ।
असार मसान्त अघि पेश भएका निवेदनहरूको रकम जिल्लामा नआएको हुँदा भुक्तानीका लगि बाँके राष्ट्रिय निकुञ्जमा फाईल पठाएको जिल्ला वन अधिकृत पंकज कुमार ठाकुरले जानकारी दिए । “हामीले जिल्लामा आएका भुक्तानी हुन बाँकी सबै फाईहरू राष्ट्रिय निकुञ्जमा पठाई सकेका छौ,” त्यहीबाट पीडितहरूको खातामा रकम जान्छ, उनले भने ।
आर्थिक वर्ष २०७९/८० मा जिल्लामा वन्यजन्तुको आक्रमणबाट ६८ वटा पशुधन र ११ जनाको अन्नवालीमा क्षति पुगेको डिभिजन वन कार्यालयले जनाएको छ । वन्य जन्तुबाट हुने क्षतिको राहत निर्देशिका बमोजिम मानवीय क्षतिको लागि २० हजारदेखि अधिकतम दश लाख, पशुधनको क्षतिका लागि दश हजार रूपैंयादेखि ३० हजार र खाद्यान्न वालीको क्षतिको लागि दश हजार रूपैंयाँसम्म उपलब्ध गराउने व्यवस्था गरिएको छ ।