© २०२३
बुटवल,२ माघ । नेकपा एकीकृत समाजवादीका नेताहरूबिच सरकारमा बस्ने कि छाड्ने भन्नेमा विवाद भएको छ । सोमबार पार्टी कार्यालय आलोकनगरमा बसेको सो पार्टीको केन्द्रीय सचिवालय बैठकमा सरकारका कामकारबाही, पार्टीबाट मन्त्री बनेकाहरूको परफर्मेन्स र जनताको अपेक्षाबारे छलफल हुँदा नेताहरूबिच सरकार छाड्नुपर्छ र छाड्नुहुँदैन भन्नेबिच चर्काचर्की नै हुन पुगेको छ । तर अध्यक्ष नेपालले तत्काल राजनीतिक समीकरण परिवर्तन हुन नसक्ने भएकाले सरकारबाहिर बस्दा राजनीतिक रूपमा थप घाटा हुनसक्ने भन्दै जेजस्तो भए पनि तत्कालै सरकार छोड्न नहुनेमा जोड दिएका थिए ।
नेता नेपालको यस्तो जवाफ सुनेपछि नेता जगन्नाथ खतिवडाले सरकार भ्रष्टाचार काण्डहरूमा मुछिए पनि केही बोल्न नसक्ने अवस्थामा रहेको बताएका थिए । उनले पार्टी र नेताहरूले सरकारको नराम्रो कामको विरोध गर्न पनि सक्ने अवस्थामा नरहेको र सरकारले राम्रो यो काम गर्यो है भनेर जनतालाई भन्न सक्ने अवस्थामा नरहेको भन्दै पार्टीले ठोस धारणा तय गर्नुपर्ने बताएका थिए ।
एकीकृत समाजवादीका नेताहरु मध्ये सरकार र आफ्नो पार्टीका मन्त्रीहरूको काम कारवाहीप्रति असन्तुष्टि जनाउनेमा सम्मानित नेता खनाल, उपाध्यक्ष घनेन्द्र बस्नेत र उपमहासचिव जगन्नाथ खतिवडा मात्रै रहेको स्रोतको भनाइ छ ।
सरकारमा बस्ने कि छाड्ने र मन्त्रीहरूको परफर्मेन्समा मात्रै होइन हालै भारतका विदेशमन्त्री जयशंकरको नेपाल भ्रमणका क्रममा भएको सम्झौताका सवालमा पनि सो सो पार्टीका नेताहरूबिच मतभेद देखिएको छ । भारतीय दूतावासले स्थानीय तहका योजनामा सिधै २० करोडसम्म लगानी गर्न पाउने भन्ने सम्झौता घातक बन्न सक्ने भन्दै केही नेताले आपत्ति जनाएका थिए । यस्तो आपत्ति जनाउनेमा पूर्व प्रधानमन्त्री समेत रहेका सम्मानित नेता झलनाथ खनाल अग्रपंक्तिमा उभिएका थिए । खनालको अडानपछि बैठकले उक्त सहमतिको दस्ताबेज झिकाउने निर्णय नै गरेको छ ।