© २०२३
काठमाडौं, २ माघ । ‘स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग गरौं, भूकम्प थेग्ने संरचना बनाऔं’ भन्ने मूल नाराका साथ आज २६ औं भूकम्प सुरक्षा दिवस मनाइंदै छ । १९९० सालको विनासकारी भूकम्पबाट पाठ सिकेर सुरक्षित आवास निर्माण र सम्भावित भूकम्पीय जोखिम न्यूनीकरणबारे समाजिक सचेतना अभिवृद्धि गर्न दिवस मनाउन लागिएको हो ।
भूकम्पले क्षति पुर्याएका संरचनाको पुनः निर्माण र भूकम्पको जोखिम न्यूनीकरणका लागि सरकार, सरोकारवाला निकाय र संघसंस्थाले दिवसलाई जागरण फैलाउन चन्द्रागिरी नगरपालिकामा भूकम्प सुरक्षा दिवस मूल समारोह हुने र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरिक हुने कार्यक्रम छ ।
विसं १९९० माघ २ गते गएको विनाशकारी भूकम्पको संझनामा २०५५ सालदेखि हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ । उक्त दिन दिउँसो २ः२४ बजे गएको ८।४ म्याग्निच्युडको भूकम्पले जनधनको ठूलो क्षति पुर्याएको थियो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद लोकविजय अधिकारीका अनुसार विस १९९० को भूकम्पमा परी आठ हजार पाँच सय १९ जनाको मृत्यु भएको थियो । ८० हजार घर ध्वस्त भएका थिए । ध्वस्तघरसहित घर, विद्यालय, देवालय र पार्टीपौवा तथा सार्वजनिक भवनसमेत गरी २ लाख ७ हजार दुई सय ४८ संरचना भत्किएको थियो।
यसैगरी विसं २०७२ बैशाख १२ गतेको गोरखाभूकम्पमा परी आठहजार छ सय ७० जनाको निधन भएको थियो भने सातलाख भन्दा वढी आवासमा क्षति पुगेको थियो । हालसालै जाजरकोटमा गएको भूकम्पले पनि मानवीय र भौतिक क्षति गरेको थियो ।