© २०२३
बुटवल,१ माघ । लुम्बिनी भ्रमणका लागि आएका चीनको अन्तराष्ट्रिय बुद्धिष्ट एशोसिएसनका उपाध्यक्ष युन सुङलाई नेपाल चीन मैत्री समाज लुम्बिनीले स्वागत गरेको छ । सुङलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चकन्यासहित स्वागत गरेको हो । सो अवसरमा उपाध्यक्ष सुङले विश्व शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्न पाउंदा निकै खुशी लागेको बताए । उनले आफ्नो भ्रमणले लाखौं चिनिया बौद्धमार्गीहरुलाई लुम्बिनी भ्रममणमा आउन प्रेरित गर्ने विश्वास लिएको बताए । नेपाल चीन मैत्री समाज लुम्बिनीका अध्यक्ष नारायणप्रसाद सापकोटाले चिनिया नागरिक र दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध विस्तारमा समाजले सक्दो योगदान गरेको जानकारी गराए । उनले आउंदै गरेको चिनिया नयां वर्षको राष्ट्रिय पर्वका अवसरमा हुने एक साता लामो विदामा चिनियाहरुलाई लुम्बिनी आकर्षित गर्न तीनै तहका सरकारले विशेष योजना र टुर प्याकेज बनाएर ठूलो संख्यामा पर्यटक भित्राउन सके समग्र रुपन्देहीको आर्थिक विकासमा टेवा पुग्ने औंल्याए । सुङको स्वागतमा समाजका अध्यक्ष नारायणप्रसाद सापकोटा,सिद्धार्थनगरकी निवर्तमान उपमेयर उमा काफ्ले,संस्थाका उपाध्यक्ष डा. ऋषिराम शर्मा , केशव बेलवासे , निर्मल शर्मा सहभागी थिए ।
उपाध्यक्ष युन सुङको टोलीमा करिब ४० जना भिक्षु,भिक्षुणी सहभागी छन् ।