© २०२३
दाङ,२९ पुस । नेकपा एमालेका महासचिव शंकर पोखरेल मुलुकम बाह्य चलखेल र हस्तक्षेप बढेको बताएका छन्।
प्रेस चौतारी, दाङले तुल्सीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले युद्धस्थलका रूपमा नेपाल प्रयोग हुने खतरा बढेको टिप्पणी गरे।
‘वर्तमान गठबन्धन सरकारका कारण एसियाभित्र द्वन्द्व सिर्जना गर्ने र दुई ठूला राज्य लडाउने भूमि नेपाल बन्ने खतरा बढेको पोखरेलको दावी छ ।
वर्तमान सरकार विकास र समृद्धिका दृष्टिले इतिहासकै असफल सरकारको रूपमा परिणाम भएको दावी गरे।
‘राज्यको गलत नीतिले तस्करी बढेको, मौद्रिक तरलता उत्पन्न भएको, व्यवसाय धरापमा परेको र लगानीको वातावरण नभएको उनले भने । यो सरकारको गलत नीतिको प्रभाव भएको र प्रधानमन्त्रीका विदेश भ्रमणको उपलब्धी शून्य भएको उनको आरोप छ ।
नेपालले निर्माण गर्न सक्ने कम लगानीका आयोजना भारतलाई हस्तान्तरण गरेर देशको हितविपरीत काम भएको दावी महासचिव पोखरेलको छ।
‘भारतीय विदेशमन्त्री नेपाल भ्रमणमा रहँदाका भएका सहमति मुलुकको हीतविपरीत भएका र भारतीय राजदूतावासले २० करोडसम्मको बजेट आफैं खर्च गर्न पाउने भन्ने सहमति राष्ट्रियताको हीत विपरीत भएको उनले दावी गरे । उनले विदेशी सहायता मुलुकका लागि आवश्यक छ तर, नेपालको बजेटको सिष्टमबाट सहायता भित्रिनुपर्छ भने ।