© २०२३
काठमाडौं,२८ पुस । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले आगामी लगानी सम्मेलनअघि नै लगानी गर्न बाधा पर्ने नीति नियममा सुधार गर्न जरुरी रहेको बताएका छन्।
शनिवार नेपाल हस्तकला महासंघको ४३ औं वार्षिक साधारणसभामा बोल्दै उनले यस्तो बताएका हुन्। आगामी लगानी सम्मेलनअघि नै लगानी गर्नका लागि बाधा पर्ने नीति नियममा सुधार गर्न जरुरी रहेको बताए। अध्यक्ष ढकालले आन्तरिक उत्पादनलाई बढावा दिनुपर्ने हिसाबको नीति सरकारले ल्याउनुपर्नेमा जोड दिए।
उनले व्यवसायीलाई प्रत्येक दुई–दुई वर्षमा सिआईपी दिए पनि लबिङ गर्न एक वर्षको समय जाने गरेको गुनासो गरे।
उनले भने, वैशाखमा लगानी सम्मेलन आयोजना भइरहेको छ। त्यसमा एउटा कमिटी पनि गठन भएको छ। कतिपय हाम्रा नीतिगत समस्या कसरी हटाउने भनेर प्रत्येक हप्तामा दुईतीनवटा बैठक बसेर यसको काम पनि अघि बढेको छ। यसले आन्तरिक र बाह्य लगानीलाई मद्दत पुग्छ।’
अध्यक्ष ढकालले उद्योगी व्यवसायीलाई राष्ट्रिय मर्यादाक्रममा समेट्न माग गरे।
उनले आफू जिल्लाका व्यवसायीका कार्यक्रममा र वस्तुगत कार्यक्रममा जाँदा पनि व्यवसायीले उद्योगी व्यवसायीको मर्यादाक्रम राख्नुपर्ने कुरा गम्भीर रूपमा उठाइरहेको बताए।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले निर्यातमा रहेका समस्या समाधान गर्न सरकारले पहल गर्नुपर्ने बताए। उनले नेपालको अहिलेको आयात निर्यातभन्दा ९ गुणा बढी रहेकाले सरकारले निर्यात प्रवर्धन गर्नुपर्ने बताए।
अध्यक्ष मल्लले नेपाली हस्तकलालाई सीपमूलक र विदेशी मुद्रा आर्जन गर्ने माध्यम बनाउनुपर्ने बताए। उनले निर्यात प्रवर्धनमा एकद्वार प्रणालीको कमी रहेकाले त्यसलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताए।