© २०२३
बुटवल,२८ पुस । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयहरुको संख्या घटाउनुपर्ने प्रस्ताव गरेका छन् । मन्त्रालय थप्ने कुरामा अहिले जान नसकिने अडान राख्दै उनले बरु त्यसलाई घटाउनुपर्छ जस्तो आफूलाई लागेको बताए ।
शनिवार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४३ औं वार्षिक साधारण सभामा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले महासंघको हस्तकला निर्यात विकास मन्त्रालय बनाऔं भन्ने माग सम्बोधन गर्न नमिल्ने बताए । यो हस्तकला विकास मन्त्रालय नै बनाऔं भन्ने महासंघको माग सम्बोधन गर्न मिल्छ जस्तो आफूलाई नलागेको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ थियो ।
उनले हस्तकलासम्बन्धी छुट्टै विभाग स्थापना गरेर जाने कुरामा भने सरकार सकारात्मक रहेको बताए । श्रेष्ठले सरकारले हस्तकला जस्तो तुलानात्मक लाभको क्षेत्रलाई प्राथमिकता दिएर मुलुकको आर्थिक विकासलाई तिब्रता दिन चाहेको बताए । सरकारले मुलुकको सुशासन र समृद्धिका लागि आफ्नो ध्यान केन्द्रित गरेको बताए ।
श्रेष्ठले मुलुकको विकास र समृद्धिका लागि ठूला उद्योग स्थापना गरेर अघि बढ्न सकिने अवस्था तत्कालका लागि नरहेकाले पनि सरकारले तुलनात्मक लाभका क्षेत्रहरुको पहिचान गर्ने र त्यसलाई अघि बढाउने कामलाई प्राथमिकता दिएको बताए ।
उनले हस्तकला क्षेत्रको विकासका लागि सोसम्बन्धि विश्वविद्यालय बनाउने विषयमा पनि सरकार सम्बन्धित पक्षसँग छलफल गरेर अघि बढ्न तयार रहेको बताए ।