© २०२३
बुटवल,२२ पुस । नेपाल उद्योग ब्यापार महासंघ अन्तर्गत देशभरका शाखा मध्ये उद्योग ब्यापार संघ बुटवल उत्कृष्ट शाखा घोषित भएको छ ।
महासंघको काठमाडौंमा सम्पन्न दोश्रो साधारण सभामा बुटवल शाखालाई उत्कृष्ट भएवापत सम्मानपत्र प्रदान गरिएको हो ।
संस्थागत गतिविधि,महासंघका कार्यक्रममा सहभागिता र योगदान लगायतका कामहरुको मूल्याङकनमा बुटवल शाखा उत्कृष्ट भएको महासंघका महासचिव खिमनारायण पराजुलीले बताए । महासंघका पुर्व अध्यक्ष कृष्णप्रसाद आचार्य संयोजक रहेको मूल्याङ्कन समिति गठन भएको थियो । बुटवल शाखा महासंघको संस्थापक सदस्य पनि हो । ७२ जिल्लामा महासंघको शाखा विस्तार भएका छन् ।
कार्यक्रममा संघीय सरकारका मन्त्री शक्तिबहादुर बस्नेत र महासंघका अध्यक्ष खिमलाल भण्डारीले उद्योग ब्यापार संघ बुटवलका निवर्तमान अध्यक्ष गोविन्दराज गैरेलाई सम्मानपत्र प्रदान गरेका थिए ।
महासंघको साधारणसभाले उद्योगी व्यवसायीले भोग्नुपरेका समस्या, अर्थतन्त्रमा देखिएका समस्या, चर्को बैंक ब्याज दर, कर र भन्सार नीति , खुला सिमा नाका नियन्त्रण लगायतका विषयमा गहन छलफल गरी विभिन्न प्रस्तावहरु पारित गरेको महासचिव पराजुलीले बताए ।