© २०२३
बुटवल,२० पुस । सरकारी र गैर सरकारी निकायले प्रदान गर्ने तालिमहरुमा सहभागी हुने तर तालिममा सिकेको सीपलाई उद्यमशील भएर व्यवहारमा नउतार्ने समस्या रहेकाले यसलाई हटाउनुपर्ने सरोकारवालाहरुले बताएका छन् ।
तिलोत्तमा नगरपालिकाले वैदेशिक रोजगारीबाट फर्केका नगरवासीलाई दिएको बेकरी र बारिष्टाको एडभान्स तालिम उद्घाटनमा बोल्ने वक्ताहरुले तालिम लिएपछि उद्यमशील बन्नुपर्नेमा जोड दिए ।
तालिम उद्घाटन गर्दै नगर प्रमुख रामकृष्ण खांणले विदेशको ज्ञान आफ्नो थलोमा उपयोग गरी उद्यमशील बन्न आग्रह गरे । तालिम लिने तर तालिममा सिकेको सीप उपयोग नगर्ने परिपाटी रहेको भन्दै खांणले यो परिपाटी अन्त्य गर्नुपर्ने बताए । श्रम र काम सानो ठूलो नहुने भन्दै नगर प्रमुख खांणले तिलोत्तमालाई उद्यशीको शहर बनाउने लक्ष्य भएको बताए । कोरोनापछि अर्थतन्त्र विश्वव्यापी रुपमा प्रभावित भएको भन्दै स्वदेशमै उद्यमशीलताको विकास गर्न युवा उद्यमीसंग सहकार्य गर्न तयार रहेको बताए ।
नगर उपप्रमुख जगेश्वर देवी चौधरीले यसअघि बेसिक तालिम लिएकाहरुको माग अनुसार १० दिनको एड्भान्स तालिम दिइएको बताइन् । उनले बेरोजगारीका कुरा गर्ने तर रोजगारमूलक तालिम आयोजना गर्दा सहभागिता नजनाउने अनि सहभागी हुनेहरु पनि तालिम पछि लिएपछि सदुपयोग गरेर उद्यमी,स्वरोजगार बन्ने संख्या कम देखिएको बताइन् ।
सो अवसरमा तिलोत्तमा वडा नंं ६ का अध्यक्ष गणेश पाठक,नगरपालिकाकी सामाजिक परिचालक अल्पा घिमिरेले तालिम सञ्चालन गर्दा सरकारको ठूलो रकम खर्च हुने भएकाले तालिमलाई महत्व दिएर व्यवहारमा उतार्न आग्रह गरिन् ।
नगरपाकिलाका रोजगार शाखा प्रमुख देवेन्द्र ज्ञवालीले वैदेशिक रोजगारीबाट फर्केकाहरुलाई तालिम दिन रोजगार बोर्डसंग नगरपालिकाले सम्झौता गरेर तग आर्थिक वर्ष २१ जनालाई बेकरी र बारिष्टाको बेसिक तालिम दिई ३ दिने उद्यमशीलता प्रवद्र्धन तालिम र प्रविधि समेत हस्तान्तरण गरेको र यसपटक उनीहरुलाई नै एडभान्स तालिम दिन लागिएको बताए । १० दिनसम्म चल्ने तालिम मणिग्रामको भैरव फुड एण्ड वेभरेजमा सञ्ञचालन हुने ज्ञवालीले बताए ।