© २०२३
काठमाडौं,१९ पुस । राष्ट्रिय सभा निर्वाचनमा सिट भागबण्डाको विषयमा छलफल गर्न प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको संयुक्त बैठक आज फेरि बस्दै छ ।
बुधबार बेलुकाको छलफल टुंगोमा पुग्न नसकेपछि बिहीबार बिहान ९ बजे फेरि बैठक बस्न लागेको हो ।
बिहीबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका शीर्ष नेताको संयुक्त बैठक बसेको थियो ।
सो बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभाको सिट बाँडफाँटमा एमालेलाई नछुटाउन आग्रह गरेका थिए । एमालेको सो आग्रहबारे के गर्ने भन्ने टुंगो नलागेपछि आआफ्नो दलभित्र छलफल गरेर पुनः बैठक बस्ने सहमति भएअनुसार आज बिहान दलका शीर्ष नेताहरु फेरि बैठक बस्न लागेका हुन् ।
राष्ट्रियसभाका २० सदस्यको कार्यकाल आगामी २० फागुनमा सकिँदै छ, जसमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनासहित ९ जना एमालेबाट निर्वाचित सदस्य छन् ।
कार्यकाल सकिनुभन्दा एक महिना अघि नै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था भएकाले आगामी माघ ११ गते निर्वाचन हुँदैछ । त्यसका लागि यही पुस २३ गते मनोनयन दर्ता हुँदै छ ।
सत्ता गठबन्धन एकातिर र एमाले अर्कोतिर भएर चुनाव भएमा राष्ट्रियसभामा एमाले शुन्य हुने निश्चित छ ।