© २०२३
दाङ, १६ पुस । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १८ नवलपुरस्थित धार्मिक तथा ऐतिहासिक अम्बिकेश्वरी मन्दिरको प्रचारप्रसार गर्ने उद्देश्यसहित स्वागतद्वार निर्माणका लागि आयोजित श्रीमद वाल्मीकि राम कथा नवाह महायज्ञबाट ३५ लाख ३८ हजार २ सय १५ रुपैयाँ संकलन भएको छ ।
अम्बिकेश्वरी मन्दिर संरक्षण तथा सम्वद्र्धन समितिको आयोजनामा गत असोज २८ गतेदेखि कार्तिक ६ गतेसम्म ९ दिन संचालित महायज्ञमा कुल ४ सय २० जना दानदाताबाट सो नगद रकम संकलन भएको सोमबार मन्दिर परिसरमा अम्बिकेश्वरी मन्दिर संरक्षण तथा सम्वद्र्धन समिति तथा महायज्ञ मूल आयोजक समितिले पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।
मन्दिर व्यवस्थापन समिति अध्यक्ष एवम् महायज्ञ मुल समारोह समिति संयोजक कुमुद पोख्रेलको अध्यक्षतामा पत्रकार सम्मेलन भएको थियो । सो अवसरमा दान तर्फ ३४ लाख ७५ हजार १ सय २५ रुपैयाँ र शान्ति कलश बिक्रीबाट ६३ हजार ९० रुपैयाँ गरी ३५ लाख ३८ हजार २ सय १५ रुपैयाँ संकलन भएको आर्थिक संकलन समिति संयोजक गोविन्द पौडेलले जानकारी दिए । उनका अनुसार, महायज्ञमा विभिन्न २२ शीर्षकमा १७ लाख ७५ हजार रुपैयाँ खर्च भएको छ । जसमा सबैभन्दा धेरै कलाकार पारिश्रमिक ६ लाख खर्च भएको छ भने टेन्टमा ५ लाख ४० हजार, पूजा सामग्री १ लाख ३० हजार ४ सय ५५, फ्रेम खरिद ७८ हजार १ सय ८०, पण्डित दक्षिणा ८५ हजार, कलश खरिद ४९ हजार ४ सय ३४ रुपैयाँलगायत आवश्यक शीर्षकमा खर्च भएको आर्थिक समिति संयोजक पौडेलले आम्दानी खर्च भएको जानकारी गराए ।
महायज्ञमा संकलित आम्दानीबाट सबै खर्च कटाएर हाल १७ लाख ६३ हजार २ सय १५ रुपैयाँ वचत भएको पनि सो अवसरमा जानकारी गराईएको छ । सो रकम मन्दिर व्यवस्थापन समितिको घोराहीस्थित कुमारी बैंकमा रहेको खातामा दाखिला गरिएको पनि उनले बताए । अम्बिकेश्वरी मन्दिरको प्रचार प्रसार गर्न र यसको धार्मिक, सांस्कृतिक महत्तव बारे जानकारी गराउँदै पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ संचालित महायज्ञबाट उठेको रकमबाट अब तत्कालै काम थालनी हुने बताईएको छ । मितेरी अस्पताल नजिक मन्दिरको भव्य स्वागतद्वार निर्माण गर्न मन्दिर व्यवस्थापन समिति सल्लाहकार नारायणप्रसाद अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको छ ।
सो अवसरमा, घोराही उपमहानगरपालिका १८ का वडा अध्यक्ष भरत अर्यालले अम्बिकेश्वरी मन्दिरको विकासका लागि वडा र पालिकाका तर्फबाट सक्दो सहयोग रहने प्रतिवद्धता जनाए । मन्दिरको गरिमालाई माथि उठाउन सबै जुटेर अघि बढ्न पनि अपिल गरे ।