© २०२३
बुटवल,१५ पुस । नेपाली कांग्रेसको तीन दिनसम्म चलेको केन्द्रीय समिति वैठकले गठबन्धन विना एक्लै अघि बढ्न नसक्ने निश्कर्ष सहित आसन्न राष्ट्रिय सभा चुनावमा गठबन्धन गरेरै जाने निर्णय गरेको छ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गर्ने र उम्मेदवार बनाउंदा नयाँ र अवसर नपाएका नेताहरूलाई उम्मेदवार बनाउने भएको छ।
आज केन्द्रीय समितिको बैठकको निर्णय सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले यस्तो जानकारी दिएका हुन्। उनले जातीय क्षेत्रीय र सन्तुलनलाई समेत ध्यान दिएर पार्टीमा योगदान पुर्याएका व्यक्तिलाई अवसर दिने निर्णय केन्द्रीय समितिले गरेको बताए।
पार्टीमा योगदान गरेका, संसदीय क्षेत्रमा योगदान गर्नसक्ने क्षमता भएका, पार्टीप्रति प्रतिबद्ध र स्वच्छ छवि भएका तथा हालसम्म कुनै अवसर नपाएकाहरूबाट योग्य व्यक्तिलाई अवसर दिइने उनले भने।
त्यस्तै, राष्ट्रियसभा निर्वाचनमा हाल जारी गठबन्धनलाई निरन्तर कायम राखेर अघि बढ्ने पनि निर्णय भएको उनले बताए। हाल कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाबीच केन्द्र र प्रदेश दुवैतिर गठबन्धन कायम छ।
कांग्रेसले हिजो सम्पन्न केन्द्रीय कार्य समिति बैठकका निर्णय आज सार्वजनिक गरेको हो। बैठकमा सरकारका काम कारबाही, मन्त्रीहरुको कार्यसम्पादन, राष्ट्रियसभा सदस्य निर्वाचनलगायतका विषयमा छलफल भएको थियो।