© २०२३
धनगढी, ११ पुष। कैलालीको फूलबारीमा आसरा सुधार केन्द्र संचालनमा आएको छ । धनगढी उप–महानगरपालिकामा बुधवार एक कार्यक्रमका बिच नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवरले उद्घाटन गर्दै कुलतमा फसेका युवाहरुलाई समाजप्रति उत्तरदायी बनाउन सुधार केन्द्र उपयोगी हुने बताए । लागूऔषधमा फसेकाहरुलाई सुधार गर्दै समाजमा सामाजिकीकरण गर्न केन्द्रको योगदान महत्वपूर्ण काम गर्ने उनले बताए । सुधार केन्द्र स्थापनाको लागि धनगढी उपमहानगर नगरपालिकाबाट १० लाख, बेलौरी नगरपालिकाबाट ५ लाख र कैलारी गाउँपालिकाले ३ लाख रुपैया आर्थिक सहयोग भएको सुदूरपश्चिम प्रहरी प्रमुख डिआइजी भरत बोहराले बताए ।
उपमहानगरपालिकाले २० वर्ष सम्मको लागि नेपाल प्रहरीलाई सुधार केन्द्र सञ्चालनको लागि जग्गा र भौतिक संरचना उपलब्ध गराएको हो । लागू औषधमा फसेकाहरूलाई सुधार गर्न केन्द्रको स्थापना गरिएको हो । यहा एक सय जनालाई राख्न सकिने सुधार केन्द्रको क्षमता रहेको छ । नेपाल प्रहरी श्रीमती सङ्घले यस अघि काठमाडौँ र धरानमा आसरा सुधार केन्द्र सञ्चालन गरिसकेको छ ।
कार्यक्रममा धनगढी उपमहानगरपालिका नगरप्रमुख गोपाल हमाल लगायत कैलाली कञ्चनपुरका विभिन्न पालिकाका प्रमुख उपप्रमुखहरु, कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय र विद्यार्थीको सहभागिता रहेको थियो । सुधार केन्द्रले लागु औषधको दुब्र्यसनीहरुलाई सुपथ शुल्कमा गुणास्तरिय उपचारको व्यबस्था गरी असल र सिर्जनशिल नागरिक बनाइ परिवार र समाजमा पुनःस्थापना गर्नेछ ।