© २०२३
काठमाडौँ ।
नेपाल टेलिकमले रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा एफटीटीएच (फाइबर टु द होम) प्रविधिमार्फत एनटी फाइबर सेवाको परीक्षण सुरु गरेको छ । पुस ८ देखि उक्त स्थानमा परीक्षण सेवा प्रारम्भ भएको टेलिकमले जनाएको छ । अन्तिम प्राविधिक परीक्षणपश्चात् ग्राहकहरूमा सेवाको सुरुआच गर्ने विज्ञप्तिमा उल्लेख छ ।
रुकुमकोटमा दुई वटा एफडीसी (फाइबर डिस्ट्रिब्युसन क्याबिनेट) मार्फत १०२४ लाइन क्षमताको नेटवर्क तयार गरिएको छ । एनटी फाइबर सेवामार्फत तीव्र गतिको डाटा, भ्वाइस र आईपीटीभी सेवा उपलब्ध गराउन सकिने टेलिकमले जनाएको छ । हाल रुकुमकोटमा रहेका करिब दुई सय सेवाग्राहीलाई एफटीटीएच प्रविधिमा रुपान्तरण गरी थप ग्राहकलाई गुणस्तरीय सेवा उपलब्ध गराइने भनिएको छ ।
यससँगै एफटीटीएच प्रविधिमार्फत एनटी फाइबर उपलब्ध भएका जिल्लाको संख्या ७४ पुगेको छ । अब डोल्पा, मुगु र हुम्लामा मात्र यो सेवा पुग्न बाँकी रहेको एनटीसीको भनाइ छ । एफटीटीएच प्रविधिमार्फत परम्परागत तामाको तारको सट्टा घरसम्म अप्टिकल फाइबर पुर्याई ट्रिपल प्ले अर्थात् भ्वाइस, उच्च गतिको इन्टरनेट र आईपीटीभी सेवा प्रदान गर्न सकिने भएकोले ग्राहकका लागि यो सेवा प्रभावकारी र उपयोगी मानिन्छ । टेलिकमले एनटी फाइबरअन्तर्गत व्यक्तिगत र कर्पोरेट युजरका लागि विभिन्न प्याकेज उपलब्ध गराइरहेको छ ।