© २०२३
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले सञ्चालन गरेको मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिको लागि संकल्प यात्रा असाधारण रूपमा सफल भएको बताएका छन् ।
सो यात्राको उपलब्धिका सम्बन्धमा आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित सञ्चारकर्मीसँगको संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यात्राले सामाजिक सद्भाव समेत कायम गरेको बताए। यात्राले राष्ट्रिय रूपमा धेरै सन्देश दिएको ओलीले प्रष्ट पारे ।
अवाञ्छित खालका चिन्तालाई अघि बढाउने प्रयासलाई सो यात्राले असफल बनाएको ओलीले दाबी गरे । अनेक खालका गलत भाष्यलाई यात्राले चिर्ने काम गरेको उनले बताए। ‘सही भाष्यलाई स्थापित गर्न यो यात्रा सफल भएको छ’, उनले भने ।
जनतामा आएको नैराश्य भाव चिर्नलाई पनि यात्राले निक्कै सहयोग गरेको ओलीले बताए । यो यात्राले राजनीतिक रूपका गलत भाष्यलाई गलत प्रमाणित गरेको ओलीले बताए । हिंसाका प्रवृत्ति र ढुङ्गा हान्ने कुरालाई यो यात्राले निस्तेज गरिदिएको ओलीले बताए ।
ओलीले सर्वदलीय बैठकबाट, सर्वपक्षीय बैठकबाट पनि यात्राको क्रममा सुझाव आएकोले यात्रा सबै हिसाबले सफल भएको बताए । विकासका निम्ति तत् तत् ठाउँमा के के गर्नुपर्छ भन्ने सुझाव यात्राको क्रममा आएको ओलीले प्रष्ट पारे ।
नेकपा एमालेले गरेको काम स्थलगत यात्रामा देखिएको ओलीले बताए । एमाले सरकारमा हुँदा गरेको काम हेर्न गाउँमा नै छिर्नुपर्छ भन्ने सन्देश यात्राले दिएको उनको भनाइ छ ।
नेपालमा आर्थिक विकासको प्रशस्त सम्भावना रहेको र त्यो सम्भावना यात्राको क्रममा पहिचान गरिएको ओलीले बताए । तर युवा पंक्ति देश छाडेर हिँड्नु गम्भीर चुनौती भएको ओलीको भनाइ छ ।
ओलीले नेपालमा कसैले चाहेर लोकतन्त्रको जग हल्लाउन नसक्ने पनि बताए ।
ओलीले लोकतन्त्र जोगाउन नागरिकले जस्तो सुकै त्याग र बलिदान गर्ने बताए ।
यात्राको माध्यमबाट नेकपा एमालेले राष्ट्रिय एकता जगाउने र लोकतन्त्रलाई थप सुदृढ गराउने काम गरेको ओलीले बताए । जनताको बिचमा जाने र जनताको कुरा सुन्ने हिसाबले पनि यात्रा महत्त्वपूर्ण रहेको ओलीले बताए ।
जनसङ्ख्या र भूगोलको हिसाबले ठुलो हिस्सा ओगटेको मध्य पहाडमा अहिलेकै अवस्था रहने हो भने देश समस्यामा पर्छ भन्ने सोचका साथ त्यहाँका नागरिकमा आशा जगाउन यात्रा गरिएको ओलीले बताए । यात्राका क्रममा समस्या पहिचान र सम्भावना प्रकट भएका ओलीले प्रष्ट पारे ।
बसाइसराइ र युवा विदेश जाने क्रमलाई रोक्नु आजको मुख्य विषय भएको ओलीले बताए । आगामी दिनमा सही नीति निर्माणको लागि ती छलफल काम लाग्ने ओलीले बताए ।
वर्तमान गठबन्धन सरकारको कारण देश गलत बाटोमा गइरहेको ओलीले बताए । देशमा धेरै समस्या भएका भर्खरै एनसेलको स्वामित्व किनबेचको विषय निक्कै गम्भीर विषय भएको उनको भनाई छ । खरबौँको सम्पत्ति करोडमा कारोबार गर्ने कुरालाई कुनै पनि हालतमा सही स्विकार्न नसकिने ओलीले बताए।