© २०२३
बुटवल,७ पुस । नेपाल मगर संघले जातीय पहिचान लगायतका मुद्दाबारे दाङमा आज आयोजना गरेको मगर सभामा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई प्रमुख र सभामुख तुलाराम घर्तीलाई विशिष्ट अतिथि बनाएकामा मगर अगुवाले नै असन्तुष्टी जनाएका छन् । चौधरी र घर्ती दुबै तत्कालीन प्रदेश ५ लाई मगरात थरुहट प्रदेश नामाकरण गर्नुपर्ने पहिचन पक्षधरको मागका विरोधी भएकाले उनीहरुलाई प्रमुख र विशिष्ट अतिथि बनाउनु विडम्बना भएको मगर अगुवाको भनाई छ । राष्ट्रिय जनमुक्ति पार्टीका युवा नेता रोशन अस्लामी मगर लेख्छन्–‘ ५ नं प्रदेशको नामाकरणका लागि ८७ सांसद मध्ये ८३ जनाले भोट हालेका थिए। झण्डै शतप्रतिशतले पहिचान बिरुद्ध भोट हालेका थिए। स्मरण रहोस् मगरांत थरुहटको बिरुद्धमा ७९ मत खसेको थियो। जसमा अहिलेका मुख्य मन्त्री र सभामुखले पनि मगरांत थरुहटको विपक्षमा आफ्नो मत दिएका थिए।
आज तिनै ब्यक्तिलाई बृहत मगर सभा कार्यक्रमका प्रमुख अतिथि र बिशिस्ट अतिथि बनाएछन् । यति कुरो पनि हेक्का नराख्नेले के को मगर सभा गर्ने ?’ पहिचान विरोधीलाई मुख्य वक्ता राखेर गरिने उक्त मगर सभाले कुनै सकारात्मक परिणाम नदिने भएकाले औचित्यहीन भएको उनीहरुके दावी छ ।
पहिचान पक्षधर अर्का युवा शंकर गाहाले पहिचान विरोधीलाई प्रमुख र विशिष्ट अतिथि बनाएर मगर सभा गर्नु स्खलित विचार र पराजित मानसिकता भनेका छन् ।
नेपाल मगर संघले मगर सभामा ठूलो संख्यामा पहिचान पक्षधर उपस्थित हुने दावी गरेपनि मगर समुदाय भित्रै मगर सभाबारे दुई थरि धारणा आएपछि सभामा सोचे जस्तो सहभागिता नहुने विश्लेषण गरिएको छ ।