© २०२३
तिलोत्तमा, ६ पुस ।
तिलोत्तमा चेम्बर अफ कमर्शले आफ्नो १० औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनका अवसरमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
संघको कार्यालय मणिग्राममा आयोजित रक्तदान कार्यक्रममा व्यवसायीहरुले उत्साहजनक सहभागिता जनाएको संघका अध्यक्ष बाबुलाल भुसालले जानकारी दिए । कार्यक्रमको उदघाटन गर्दै नेपाल चेम्बर अफ कमर्शका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्ष टंकप्रसाद पोखरेलले मानवीय जीवनका लागि रगत अत्यन्तै महत्वपूर्ण भएकाले यस्ता कार्यक्रमतर्फ संघ सधै अग्रसर भइराख्नुपर्नेमा जोड दिए ।
उनले व्यवसायीहरुको हक हित र उनीहरुका मुद्दालाई बोकेर संघको नेतृत्व अगाडि बढेमा संस्था मजबुत हुने र व्यवसायीहरुका लागि व्यावसायिक सीपका साथै नेतृत्व र क्षमता विकासका कार्ययोजनाहरु पनि सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
चेम्वर अफ कमर्श लुम्बिनी प्रदेशका महासचिव एवं संघका संस्थापक अध्यक्ष झविन्द्रप्रसाद कंडेलले सही कार्ययोजना र नेतृत्वले मात्र संस्थाको सवलीकरण र विकासमा टेवा पुग्ने बताए ।
कार्यक्रममा संघका उपाध्यक्ष नेत्रप्रसाद न्यषैपाने, महासचिव विष्णु बराल क्षेत्रीले पनि आ–आफ्नो धारणा राखेका थिए । रक्तदान कार्यक्रममा ४१ युनिट रगत संकलन भएको संघका कार्यालय प्रमुख रामु सापकोटाले जानकारी दिए । तिलोत्तमा चेम्बर अफ कमर्शको १० औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन यही पुस १४ गते हुँदैछ ।