© २०२३
बुटवल, ३० मंसिर ।
बृटिश म्यानेजमेन्टमा सञ्चालित मोफसलको एक मात्र क्याम्बिज विद्यालय नमस्ते एकेडेमीमा शनिबार नमस्ते कृयटिभ फेस्ट आयोजना गरिएको छ । पूर्णरूपमा विद्यार्थीको नेतृत्व, निर्देशन र सहभागितामा नमस्ते कृयटिभ फेस्ट २०८० सम्पन्न गरिएको हो ।
दोस्रो संस्करणका रुपमा सञ्चालन भएको फेस्टको लागि कक्षा नर्सरीदेखि १२ सम्मका विद्यार्थीले सहभागिता जनाएका छन् ।
विद्यार्थीको टिम वर्क, कृयटिभेटी र नेतृत्व क्षमताको विकास गर्ने उद्देश्यले आयोजना गरिएको यस फेस्टमा विद्यार्थीले किताबी ज्ञानका अलावा आफ्नो रुचि अनुसार सिकेका, जानेका र बुझेका विविध पक्षको जानकारी गराइएको थियो । फेस्टमा आर्ट एक्जिबिसन, फुड फेस्टिबल, मार्केट, आर्केड, इ –स्पोर्ट्स टुर्नामेन्ट, डर्मा, हन्टेड हाउस, लाइभ म्युजिक एण्ड डान्स प्रस्तुत गरिएको फेस्टका इभेन्ट म्यानेजर विद्यार्थी मिमांस न्यौपाने बताए ।
कृयटिभ फेस्टले विद्यार्थीमा बिजनेस आइडिया, स्थायित्व, बजारीकरण र रोबोटिकका बारेमा समेत विद्यार्थीका नवीनतम आइडिया सिकाएको र फेस्टको सम्पूर्ण खर्च विद्यार्थीले सृजना गरेको मार्केटबाट उठाइएको अप्रेसन सुपर भाइजर विद्यार्थी संगीत कौसलले जानकारी दिए । उनले कार्यक्रमको स्पोन्सर हाम्रो पात्रो, भोज डिल, हुबुटिक र एनजी मार्केट्ले गरेको समेत जानकारी दिए ।
फेस्टमा फालिएका बस्तुको पुन प्रयोग गरी बनाइएका डेकोरेसन, आर्ट एन्ड क्राफ्ट, ज्वेलरी, हेन्डिक्राफ्ट, रोबोटिक सामग्रीको प्रदर्शनी र व्यापार समेत हुनेछ ।
पुराना पुस्तकको बिक्री वितरण समेत गरिएको फेस्टको बजारबाट उठेको रकमबाट नेपालको दुर्गम जिल्ला डोल्पामा रहेको हिमालयन डेभलपमेन्ट इनिसिटिभ डोल्पामा शैक्षिक सामग्री वितरण गरिने फेस्टकी कृयटिभ सुपरभाइजर विद्यार्थी सिन्चन थापाले बताइन् ।
विद्यालयका भाइस प्रिन्सिपल लिलामणी पाण्डेले यो विशुद्ध बालबालिकाको कार्यक्रम रहेको जानकारी दिंदै दोस्रो संस्करणसम्म आइपुग्दा विद्यार्थीले धेरै कुराको् ज्ञान हासिल गरिसकेको बताए ।
विद्यालयका प्राचार्य जिग्मे शेर्पाले मोफसलमै विद्यार्थीबाट हुने यस्ता कार्यक्रमले विद्यार्थीमा सामाजिक उत्तरदायित्व, करुणा र अरुका लागि पनि हामीले केही गर्नुपर्छ भन्ने भावनाको विकास हुने बताए ।
रुपन्देही क्षेत्र नं. ३ का प्रदेश सभा सदस्य तुलसीप्रसाद चौधरीले फेस्टको उदघाटन गरेका थिए । फेस्टमा यस क्षेत्रका विभिन्न अगुवा, समाजसेवी, व्यापारी, शैक्षिक व्यक्तित्व, विद्यार्थी, अभिभावक र शुभेच्छुक समेत सहभागी थिए । विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र कुँवरले यस्तो कार्यक्रमबाट विद्यार्थीमा कला कौशलका साथै नेतृत्व क्षमताको समेत विकास हुने बताए ।