© २०२३
बुटवल,२९ मंसिर । पूर्वगृहमन्त्री बालकृष्ण खाण सात महिनापछि छुटेका छन् । सम्पत्ति शुद्धीकरण विभागपछि अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पुर्याइएका खाणलाई साधारण तारेखमा छाड्ने आदेश भएको हो । खाण छुटिसकेको अख्तियारका प्रवक्ता नरहरी घिमिरेले जानकारी दिए ।
यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका खाणलाई उच्च अदालत पाटनले बिहीबार ३० लाख रूपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो । काठमाडौं जिल्ला अदालतमा धरौटीबापतको रकम बुझाएका खाणलाई त्यसपछि सम्पत्ति शुद्धिकरण विभाग र अख्तियार पुर्याइएको थियो ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोपमा प्रहरीले खाँणलाई २७ वैशाखमा पक्राउ गरेको थियो । न्यायाधीश जनक पाण्डेले खाँणलाई ३० लाखमा छाड्न आदेश गर्दा उनीसँग न्यायाधीश प्रकाश खरेल असहमत भएका थिए । बिहीबार न्यायाधीश कृष्णराम कोइरालाले खाँणलाई ३० लाखमा छाड्न सहमत भएसँगै उनको रिहाइ प्रक्रिया सुरु गरिएको थियो ।