© २०२३
तिलोत्तमा,२८ मंसिर । तिलोत्तमा नगरपालिकाले नगरपालिकाबाट दिइने सेवालाई वडा तहमै प्रदान गर्ने उद्देश्यले वडाहरुमा घुम्ती शिविर शुरु गरेको छ । पहिलो घुम्ती शिविर १४ नम्बर वडामा भएको छ । शिविर उद्घाटन गर्दै नगर उपप्रमुख जगेश्वर देवी चौधरीले नगरपालिकाका कार्यालयमा सेवा लिन आउंदा हुने कठिनाई र समस्यालाई मध्यनजर गरी वडावासीको सहजताका लागि वडा वडामा घुम्ती शिविर संचालन गरिएको बताइन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले घुम्ती शिविर सञ्चालनले नगरपालिकाले प्राथमिकता दिनुपर्ने क्षेत्र र सेवा प्रवाहबारे नयां जानकारी र अनुभव समेत मिलेको बताए । उनले शिविरमा विशेषज्ञ डाक्टरबाट स्वास्थ्य चेकजांच,औषधि वितरण, योजना शाखाबाट हुने सबै कार्यहरु,पशु पन्छी सम्बन्धि चेकजांच तथा उपचार र परामर्श सेवा, कृषी सम्बन्धी सबै सेवा,टोल बिकास , संघ संस्था दर्ता नविकरण, रोजगार परामर्श, उद्धमी परामर्श, ज्येष्ठ नागरिक तथा अपाङ्गता परिचय पत्र वितरण लगायत नगरपालिकाकाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु एकै स्थानबाट सेवा प्रबाह गरिने बताए । वडा नंं १४ को घुम्ती शिविरमा तिलोत्तमा नगरपालिकाको १३ र १४ नंं वडाका करिब तीन हजार नागरिकले सेवा लिएको उनले बताए ।
वडा नम्बर १४ का अध्यक्ष आश्विन पौडेलले वडा तहमा नगरपालिका कार्यालयबाट दिइने सेवा दिंदा वडावासी खुशी भएको बताए । नगरपालिकाका योजना शाखाका प्रमुख माधव पोखरेलले वडा वडामा पालैपालो गरिने घुम्ती शिविर एक एक दिनका दरले सञ्चालन हुने बताए । नगरपालिकाका कार्यपालिका सदस्य सुरेन्द्र श्रीले वार्षिक नीति तथा कार्यक्रममा पारित कार्यक्रमलाई कार्यान्वयनमा ल्याइएको र यसबाट नगरवासीले अधिकतम लाभ लिनसक्ने बताए ।