© २०२३
दाङ, २८ मङ्सिर ।
अनौपचारिक क्षेत्र सेवा केन्द (इन्सेक) दाङले वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । दाङको घोराहीमा गरेको समीक्षा कार्यक्रममा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि संकलित घटनाहरुका बारे समीक्षा गरेको हो ।
कार्यक्रममा गतवर्ष २ सय २६ घटना अभिलेख भएकोमा यसवर्ष २ सय ९२ घटना अभिलेख भएका छन् । जिल्लामा अघिल्लो वर्षको तुलनामा यो वर्ष बलात्कारका घटना बढेकोमा चिन्ता ब्यक्त गरिएको थियो । गतवर्ष ४० वटा वलात्कारका घटना अभिलेख भएकोमा यसवर्ष ८९ घटना अभिलेख भएका छन् । सहभागीहरुले यस्ता घटना न्यूनिकरणका लागि गाउँगाउँमा चेतनामूलक कार्यक्रम गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीले समाजमा हुने बिभिन्न किसिमका घटनाहरुलाई नियन्त्रण गर्न सबैले पहल गर्नुपर्ने बताइन् । दाङमा लागुपदार्थको दुव्र्यसनी बढेकोमा चिन्ता व्यक्त गरिन् । महिलामाथि हुने बिभिन्न हिंसाका घटना हुनुमा मदिरा प्रमुख कारण देखिएको उनले बताइन् । कार्यक्रममा मानवअधिकार सञ्जालका संयोजक केशवकुमार शर्मा, प्रहरी कार्यालयका प्रतिनिधि र सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको थियो । सहभागीले प्रत्येक वर्ष हिंसाका घटना बढ्नु चिन्ताजनक बिषय भएको तर्क गरेका थिए ।
कार्यक्रममा प्रस्तुत गरिएको प्रतिवेदनमा घरेलु हिंसाका १ सय ४, बलात्कार ८९, बलात्कार प्रयास ५, यौन दुब्र्यवहार २६, हत्या १२ लगायतका बिभिन्न २ सय ९२ घटनाको अभिलेखीकरण भएको इन्सेक दाङ प्रतिनिधि जयनारायण पुनले जानकारी गराएका थिए ।