© २०२३
बुटवल, २७ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी नेता शेखर कोइरालालाई दलको नेता बनाउनुपर्ने बताएका छन् ।
बुधबार शेखर–गगन पक्षको भेलामा उनले समूह एकढिक्का भई शेखर कोइरालालाई संसदीय दलको नेता बनाउन प्रयास गर्नुपर्ने बताएका हुन् । ‘पार्टीमा संसदीय दलको नेता परिवर्तन गर्न प्रयास गर्नुपर्छ, अब शेखर कोइरालालाई नेता बनाउन लागौं’–गगनले भनेका छन् । गगनले देउवा नै प्रधानमन्त्री हुने अवस्था भयो भने २०८२ मा महाधिवेशन हुन नसक्ने प्रष्ट पारेका छन् ।
थापाले १४ औं महाधिवेशनबाट बनेको शेखर–गगन समूह एकतावद्ध हुन नसकेकामा असन्तुष्टि जनाए । आफूले समूहभित्रै र पार्टी सभापतिसँग पनि भिड्नुपरेको भन्दै थापाले समूह एकतावद्ध भई देउवासँग भिडौं भनेका छन् ।
हाल कांग्रेस सभापति शेरबहादुर देउवा संसदीय दलको नेता छन् । कांग्रेसका पार्टीबाट सरकारको नेतृत्व गर्दा संसदीय दलको नेताले गर्ने व्यवस्था छ । हालको सत्ता गठबन्धनका दलहरुबीच सत्ता साझेदारी गर्ने सहमति अनुसार पुष्पकमल दाहाल प्रचण्डपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने नेताहरुले बताएका छन् ।