© २०२३
बुटवल,२४ मंसिर । होटेल व्यवस्थापन सम्बन्धी तालिम प्रदायक संस्था डाइनामिक टेक्निकल एजुकेसन एण्ड भोकेसनल ट्रेनिङ (डीटीईभीटी) प्रालि बुटवल १०औं वर्षमा प्रवेश गरेको छ । दशौं वर्ष प्रवेशका अवसरमा संस्थाले एक कार्यक्रम गरी वार्षिकोत्सव मनाएको छ ।
कार्यक्रम उद्घाटन गर्दै होटेल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका पुर्व अध्यक्ष समुन्द्र जीसीले होटेल व्यवस्थापन सम्बन्धी तालिम लिने जनशक्तिलाई रोजगारी पाउन कुनै समस्या नहुने बताए । होटेल व्यवस्थापन सम्बन्धी तालिम प्रदायक संस्थाहरु र होटेल व्यवसाय एक अर्काका परिपूरक भएको भन्दै जीसीले गुणस्तरीय जनशक्तिकै कारण होटेलको सेवा पनि राम्रो हुने बताए ।
आर्थिक मन्दीका कारण होटेल व्यवसाय संकटमा परेकाले सरकारले विशेष राहत प्याकेज ल्याउनुपर्ने जीसीले माग गरे ।
कार्यक्रममा डाइनामिक टेक्निकल एजुकेसन एण्ड भोकेसनल ट्रेनिङ प्रालिका प्रबन्ध निर्देशक अरुण मैनालीले ९ वर्षको अवधिमा संस्थाले एक महिनेदेखि ६ महिनेसम्मका सशुल्क र नि:शुल्क गरी ५ हजार बढीलाई तालिम दिएको बताए । संस्थाले प्रोफेसनल डिप्लोमा इन होटेल म्यानेजमेन्ट, कुक, वेटर र हाउस किपिङ तालिम दिने गरेको जानकारी गराए ।
बुटवलका होटेल व्यवसायीसंग डाइनामिक टेक्निकल एजुकेसनको राम्रो सहकार्य रहेको उल्लेख गर्दै उनले तालिम प्राप्त जनशक्तिको विदेश पलायन रोक्न सरकारको ध्यान जानुपर्ने बताए ।
कार्यक्रममा दीप बोर्डिङ हाई स्कूलका प्लस टु संयोजक बसन्त जोशी, संस्थाका मोनिटरिङ अफिसर मिलन तरामु, प्रशिक्षकहरु अखिल भण्डारी र राधा पाण्डे लगायतले बोल्दै अहिलेको समय सीपयुक्त शिक्षा भएकोमा जोड दिए ।