© २०२३
चन्द्रौटा (कपिलवस्तु), २३ मंसिर । प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले वडा मिलान हुन नसक्दा स्थानीयहरुलाई असहज भएको बताएका छन् । कपिलवस्तुको शिवराज नगरपालिका–३, बलुहवामा साप्ताहिक स्वास्थ्य सेवा केन्द्रको शुक्रवार आयोजित उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सानो सानो कामको लागि वडा जानुपर्ने भएपनि नजिक नहुदा गाउँ बासीलाई समस्या भएको र यसबारे आफू जानकार रहेको उनले बताए । वडा कार्यालयले साप्ताहिक रुपमा वडाको काम र स्वास्थ्य सेवा केन्द्र संचालनमा ल्याउनु निकै सकारात्मक कुरा रहेको केसीले उल्लेख गरे ।
यस्तै शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले स्वास्थ्य क्षेत्र पहिलो प्राथमिकता राखेको बताए । नगर उपप्रमुख शिवकुमारी थारुले नागरिकलाई सहज रुप सेवा प्रदान गर्न पालिका खटेको जनाईन । थारुले ग्रामिण भेगमा सेवा केन्द्र स्थापनाले गाउँटोलमै सेवा पाइने बताउँछिन् ।
वडामा रहेको स्वास्थ्य चौकी स्थानीयलाइ पाएक नपरेको हुदा गाउँ केन्द्र स्थापना गरिएको वडा अध्यक्ष टेकलाल सापकोटाले बताए । साप्ताहिक रुपमा सेवा सुरु गरेको र सेवाग्राहीको अवस्था हेरेर दैनिक सेवा सुरु गरिने उनले बताए । उद्धघाटन कार्यक्रमको अवसरमा सेवा केन्द्रबाटै जेष्ठ नागरिकको १ सय ४५ बढीलाई निः शुल्क स्वास्थ्य जाँच गरिएको जितेन्द्र बिसीले जानकारी दिए ।