© २०२३
बुटवल,२३ मंसिर । बुटवल योगिकुटीको मणिमुकुन्द कलेजले काठमाडौं उपत्यका बाहिर सबैभन्दा धेरै विद्यार्थीले एमबीबीएस अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएको दावी गरेको छ । कलेजका ७ जना विद्यार्थीले एमबीबीएस पढ्न पूर्ण छात्रवृत्तिमा नाम निकालेका हुन् । हालसम्म उपत्यका बाहिर एउटै कलेजमा ७ जना विद्यार्थीले एउटै वर्ष एमबीबीएसमा नाम निकालेको सूचना र जानकारी नआएकाले मणिमुकुन्दको नतिजा लुम्बिनी प्रदेशमा सबैभन्दा उत्कृष्ट भएको कलेजको भनाई छ । यस्तै इन्जिनियरिङ, बी अप्टोमेट्री, बीएस्सी फरेस्ट्री र बीएस्सी नर्सिङमा गरी ८ जना मणिमुकुन्दका विद्यार्थीले पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन् । विभिन्न विषयमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल र बीबीएस चौथो सेमेस्टरमा उत्कृष्ट अंक हासिल गरेका ४ जना विद्यार्थीलाई कलेजले एक भब्य समारोहबीच सम्मान गरेको छ ।
एमबीबीएसमा पूर्ण छात्रवृत्ति पाएका विद्यार्थीहरुमा खुशी सापकोटा, राम विनोद यावद, सौगात ढकाल,सन्देश चुदाली,समिर कुंवर,माधव कुमार चौधरी र अस्मिन सलामी रहेका छन् । यस्तै इन्जिनियरिङमा घनश्याम शर्मा,बिशाल रिजाल र रिदम शाही, बी अप्टोमेट्रीमा रिया जयसवाल, बीएस्सी नर्सिङमा मनिका पौडेल र प्रतिक्षा गैरे तथा बीएस्सी फरेस्ट्रीमा समिक्षा अधिकारीले पूर्ण छात्रवृत्तिमा नाम निकालेका हुन् । यस्तै बीबीएस चौथो सेमेस्टरमा सुमन पराजुली (७९.४० %),स्मृति न्यौपाने (७८.४०%), सुस्मिता रिजाल (७७.६०%) र झरना अर्याल (७५.४०%) ले उत्कृष्ट अंक हासिल गरेकाले उनीहरुलाई पनि सम्मान गरिएको हो ।
छात्रवृत्ति पाएका विद्यार्थीलाई सम्मान गर्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले कलेज प्रशासन,प्राध्यापक, विद्यार्थी र अभिभावक गरी चार पक्षको सामूहिक मेहनतले विद्यार्थीहरुले उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको बताइन् । उनले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई नेपालमै बस्ने वातावरण बनाउन तीनै तहका सरकारको ध्यान जानुपर्नेमा जोड दिइन् ।
मणिमुकुन्द सहित बुटवलका विभिन्न कलेजबाट पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थीहरुलाई बुटवल उपमहानगरपालिकाले पनि सम्मान गर्ने उपप्रमुख अर्यालले प्रतिवद्धता जनाइन् ।
सो अवसरमा कलेजका प्राचार्य टुकबहादुर क्षेत्रीले विद्यार्थीको शैक्षिक संगै सर्वाङगीण विकासमा कलेजले उत्तिकै महत्व दिएको बताए । सरकारले निजी शैक्षिक संस्था र निजी शैक्षि संस्थामा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति र अन्य सुविधामा विभेद गर्न नहुनेमा उनले सरकारको ध्यानाकर्षण गराए ।
कलेजका विज्ञान संयोजक लक्ष्मण गैरेले विद्यार्थीको उज्ज्वल भविष्यका लागि कलेज प्रशासन र प्राध्यापकहरुले कुनै सम्झौता नगर्ने बताए । कलेजका संयोजक पशुति चौधरीले पूर्ण छात्रवृत्तिका लागि परीक्षा दिने कलेजका विद्यार्थीमध्ये ९० प्रतिशतले नाम निकाल्न सफल हुने गरेको दावी गरे ।
कार्यक्रममा अभिभावक महासंघका केन्द्रिय सदस्य लोकनाथ ज्ञवाली, एपेक्स स्कुलका प्राचार्य दिपक गौतम,अभिभावक हरिप्रसाद चुदाली, विद्यार्थी खुशी सापकोटा र सुमन पराजुलीले मणिमुकुन्द कलेज शैक्षिक गुणस्तर र अतिरिक्त क्रियाकलापमा लुम्बिनी प्रदेशकै अग्रणी संस्था बन्दै गएको बताए ।