© २०२३
नवलिुर, २२ मंसिर ।
पुर्वी नवलपुरको कावासोतीमा ६ वर्षीया बालिकालाई आफ्नै बुबाले पटक पटक यौन हिंसा गरेको घटनामा प्रहरीले आरोपित बुबालाई कावासोतीबाट नियन्त्रणमा लिएको छ । कावासोती नगरपालिका निवासी पीडित ६ वर्षीया बालिकामाथि विभिन्न समयमा बुबाबाट यौन हिंसा भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक नरहरी रेग्मीले बताए ।
पीडित बालिकाकी आमा तीन महिनादेखि सम्पर्क बिहिन भएपछि पीडित बालिका र उनका ९ वर्षीय दाजु अहिले ३९ वर्षीय बुबासंगै बस्दै आएका छन् । घरमा पटक पटक बुबाबाट यौन हिंसा भएपछि बालिकाले घटनाको बारेमा आफ्नो साथीलाई सुनाएकी थिईन् । साथीले आफ्नो आमालाई र आमाले विद्यालयका प्रधानाध्यापकलाई घटनाको बारेमा जानकारी गराएपछि प्रधानाध्यापकले प्रहरीकोमा घटनाको बारेमा मौखिक जानकारी गराएका थिए । घटनाको बारेमा मौखिक जानकारी प्राप्त भएपछि आरोपित बुबालाई बिहीबार नियन्त्रणमा लिई प्रहरी हिरासतमा राखेर घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक साजन शर्माले जानकारी दिए ।
घटनाबारे जानकारी भएपछि प्रहरी र छिमेकीले ३ महिना देखि सम्पर्क बिहिन भएकी बालिकाको आमालाई बोलाएको छ । घटनाको लिखित जाहेरी र पीडित बालिकाको संरक्षणको लागि आमालाई झिकाईएको हो ।
हाल सम्म प्रहरीमा घटनाको बारेमा मुद्दा दर्ता भएको भने छैन । पीडित बालिकाकी आमाबाट जाहेरी प्राप्त भएपछि जाहेरी र घटनाको प्रकृतिको आधारमा कुन शीर्षकमा मुद्दा दर्ता गर्नेबारे यकिन हुने प्रहरी निरीक्षक शर्माले बताए । पीडित बालिकाको मध्यविन्दु जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण भएको छ ।