Butwal Today

‘अपाङ्गता भएका व्यक्तिलाई हरेक क्षेत्रमा प्राथमिकता दिऊँ’

२१ मंसिर २०८०, बिहीबार
अ+
अ-

बुटवल, २१ मंसिर–लुम्बिनी प्रदेशले अपाङ्ग भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिएर उनीहरूको मनोबल बढाउने सामाजिक विकास मन्त्री मन्त्री चन्द्रकेश गुप्ताले बताएका छन् । द लेप्रोसी नेपाल, फाउण्ड परियोजनाद्वारा बुधबार बुटवलमा आयोजित रोजगार विहिन अपाङ्गता भएका व्यक्तिहरूका लागि उर्जाशिल अवसर विषयक सिकाई आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गुप्ताले सो कुरा बताएका हुन् । साथै प्रदेश सरकारले अपाङ्गता भएकाहरूले प्रदेशबाट दिने सेवा सुविधामा कनै कन्जुसाई नहुने बताउँदै अपाङ्गता भएका व्यक्तिलाई पनि अवसर दिएमा धेरै काम गर्न सक्ने बताए ।

मानिस सबै भन्दा विकेकशिल प्राणी भएकाले पनि एक अर्कालाई सम्मान र एक अर्काको दुःखमा आफले सकेको सहयोग गर्नु पर्ने मन्त्री गुप्ताले बताए । फाउण्ड परियोजनाका निर्देशक चिरजिवि पौडेलले आफुहरूले गरेको कामले अपाङ्गता भएकाहरूलाई आत्मनिर्भर गराउनका लागि टेवा पुगेको बताए ।

अन्तरक्रिया कार्यक्रममा लुम्बिनी प्रदेश सभाका सदस्य विष्णु पन्थी, कनैया बानिया, बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डे, नेपाल पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष रामराज पोखरेल लगायतले बोल्दै अपाङ्गता भएकालाई समाजमा भेदभाव भन्दा पनि उनीहरूलाई सम्मान गरेर आत्मबल बढाइदिनु पर्ने बताएका थिए । १५ सय जना अपाङ्गता भएका व्यक्तिलाई रोजगारी दिने उद्देश्यसाथ सञ्चालन गरिएको पाँच वर्षे कार्यक्रममा चार वर्षमै १३ सय १४ जनाले रोजगारी पाएर सफलता हासिल गरेको संस्थाका निर्देशक शर्माले बताए ।
उनका अनुसार परियोजनामार्फत अहिलेसम्म पाँचसय २५ जना व्यक्ति विभिन्न संस्थामा कर्मचारीका रूपमा नियुक्त भएका छन् । सात सय ९९ जना विभिन्न उद्योगमा कार्यरत छन् । दुईसय ४५ जनालाई विभिन्न किसिमको तालिम दिइएको छ । आठसय ११ जना रोजगारी नजिक छन् भने पाँच सय ४० जनाको आयस्तर २० प्रतिशतले वृद्धि भएको छ ।

द लेप्रोसीले राष्ट्रिय अपाङ्ग महासङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घसँगको सहकार्यमा रोजगारविहीन अपाङ्गता भएका व्यक्तिका लागि ऊर्जाशील अवसर ‘फाउण्ड परियोजना’ २०१९ मा सुरु गरेको थियो । । परियोजनाको मुख्य उद्देश्य अपाङ्गता भएका व्यक्तिहरूलाई रोजगारीमा नियुक्ति गर्नका लागि रोजगारदातामाझ विश्वासको वातावरण निर्माण गर्नुका साथै नेपालमा रहेका अपाङ्गता व्यक्तिहरूका लागि रोजगारीका अवसर बढाउनु हो। यो परियोजना रूपन्देही, काठमाडौँ, मोरङ, ललितपुर र कपिलबस्तु गरी ५ वटा जिल्लामा संचालित रहेको परियोजनाकी रोजगार परामर्श अधिकृत राधा भट्टराई ले जानकारी दिईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?