© २०२३
दाङ, २०मंसिर। दाङमा २०औँ राष्ट्रिय सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाईएको छ । जिल्लाको विभिन्न पालिकामा स्वयंसेविकाहरुले यो कार्यक्रम मनाएका छन् । घोराही उपमहानगरपालिका अन्तरगत रहेका स्वास्थ्य स्वयंसेविकाहरुले पनि आज एक कार्यक्रम गरि यो दिवस मनाएका हुन् ।
घोराही उपमहानगरपालिका स्तरीय महिला स्वास्थ्य स्वयंसेविका समिति अध्यक्ष बिना खनालको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका नगर उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्य एवम् स्वास्थ्य कार्यालय दाङका प्रमुख डम्बरबहादुर कुँवरको विशिष्ट आतिथ्यमा कार्यक्रम गरि समुदायको स्वास्थ्यमा योगदान पुर्याउँदै आएका स्वयंसेविकाहरुको योगदानका बारेमा चर्चा गर्दै दिवस मनाईएको हो ।
सो अवसरमा, बाल मृत्युदर, मातृ मृत्युदर कम गर्न तथा नागरिकको स्वास्थ्यमा पहुँच पुर्याउन २०४६ सालदेखि नेपाल सरकारले अघि सारेका स्वास्थ्यका क्षेत्रमा निरन्तर योगदान दिदै आएको हुँदा चुनौतिका रुपमा रहेको पोलियो उन्मुलनदेखि पछिल्लो समय कोरोना विरुद्धको खोप अभियान सफल बनाउन स्वास्थ्य स्वयंसेविकाहरुको भुमिका रहेकोमा जोड दिईएको थियो ।
कार्यक्रममा नगर उपप्रमुख डिसीले स्वास्थ्य स्वयंसेविकाहरुबाट नगरबासीलाई समुदाय स्तरमा पुगेर सेवामा साथ दिएकै कारण स्वस्थ नागरिक बनाउन सहयोग मिलेको बताइन । नागरिक स्वस्थ भए मात्रै समाज स्वस्थ हुने र यसले राष्ट्रलाई समृद्धिको यात्रामा सहज बनाउने हुँदा स्वास्थ्य स्वयंसेवसकाहरुको मेहनत प्रशंसनीय रहेको बताइन।
स्वास्थ्य कार्यालय दाङका प्रमुख कुँवरले सरकारले अघि सारेको स्वास्थ्य सुचकलाई पूरा गर्ने काममा समुदाय स्तरमा रहेर नागरिकको स्वस्थतामा भुमिका खेल्दै आएका स्वयंसेविकाहरुको काम निकै महत्त्वपूर्ण रहेको बताए ।
सो अवसरमा, स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले पालिकाभित्रको स्वास्थ्यको अवस्था सुधारका लागि महिला स्वास्थ्य स्वयम्सेविकाबाट पाएको सहयोगले ठूलो भूमिका खेलेको बताए ।
दिवसका अवसरमा स्वयंसेविकाहरुले आफुहरुको योगदानको उचित मुल्यांकन गर्दै सामाजिक सुरक्षाको दायरा बढाउन, विभिन्न शीर्षकमा वित्तीय सेवा उपलब्ध गराउनलगायत १० बुँदे माग राखेका छन् ।
उनीहरुले स्वास्थ्य स्वयंसेविकाहरुलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन, चाडपर्वको भत्ता दश हजारको दरले उपलब्ध गराउन, जीवन बीमाको व्यवस्था लागू गर्न, योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन माग गरेका छन् ।
यसैगरी, अभियान भत्ता, राष्ट्रिय कार्यक्रमवापत दिँदै आएको रकम चार सयबाट बढाएर एक हजार पुर्याउन, सेवा अवकाश हुँदा निजामति कर्मचारी सरह न्यूनतम एकमुष्ठ रकम उपलब्ध गराउन, स्वास्थ्य बीमाको व्यवस्था आजीवन गराउन, समयसापेक्ष स्वास्थ्य सम्बन्धी तालिम दिन र उपकरणको व्यवस्था गर्न माग गरेका छन् ।
दि वसका अवसरमा पालिकाले उमेर हदका कारण अनिवार्य अवकाश हुनुभएका ४२ जना स्वास्थ्य स्वयंसेविकालाई प्रमाण पत्रसहित दोसल्ला ओढाएर सम्मान गरेको छ । सेवा निवृत्त हुनुभएकाहरुलाई पालिकाले नगद २० हजार समेत उपलब्ध गराएको छ । अब उहाँहरुलाई प्रदेश सरकारबाट ५० हजार र संघ सरकारबाट पनि २० हजार रुपैयाँ उपलब्ध हुने बताईएको छ ।
घोराही उपमहानगरपालिकामा २ सय ३२ जना महिला स्वास्थ्य स्वयंसेविका कार्यरत रहेका छन् । कार्यक्रम गनुअघि स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यका क्षेत्रमा कार्यरत प्रतिनिधिलगायतले घोराही बजारमा सचेतना र्याली निकालेका थिए ।