© २०२३
बुटवल,१९ मंसिर । लुम्बिनी प्रदेश सरकारले पुर्ववर्ती एमाले नेतृत्वको सरकारले नियुक्त गरेका अस्पताल विकास समिति अध्यक्षलाई हटाएर अन्य व्यक्तिलाई नियुक्त गरेको विरुद्धमा परेको मुद्दामा अदालतले अन्तरिमकालीन आदेश दिएको छ । अदालतको आदेशले नयां नियुक्त भएका अध्यक्षहरुलाई काम गर्ने बाटो बन्द भएको छ । अन्तरिमकालीन आदेशको पूर्ण पाठ आउन बांकी रहेको छ ।
गत मंसिर ११ गते एमाले नेतृत्वको सरकारले नियुक्त गरेका अस्पताल विकास समितिका अध्यक्षहरु अजयमान श्रेष्ठ लगायतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष श्रेष्ठ, राप्ती प्रादेशिक अस्पतालका अध्यक्ष पदमप्रसाद न्यौपाने, प्युठान अस्पतालका अध्यक्ष विजय विराज विष्ट र रूकुम पूर्व अस्पतालका अध्यक्ष फत्तेकुमारी ओलीले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।
कात्तिक १ गते लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले अस्पताल विकास समिति खारेज गर्ने निर्णय गरेसँगै लुम्बिनी प्रदेशका सबै अस्पताल विकास समितिहरू विघटन भएका थिए। तर त्यसै दिनको मन्त्रिपरिषद् बैठकले सत्ता गठबन्धन निकट व्यक्तिलाई अस्पताल विकास समितिमा नियुक्ति गर्ने उद्देश्यले अस्पताल विकास समिति गठन तथा सञ्चालन नियमावली २०८० जारी गरेको थियो।
सोही नियमावलीलाई आधार मानेर कात्तिक २३ गते बसेको कार्यबाहक मुख्यमन्त्री तथा अर्थमन्त्री स्तरको बैठकले प्रदेश मातहतका १३ वटा अस्पतालमा अध्यक्षहरू नियुक्ति गर्ने निर्णय गरेको थियो।
निवेदकहरूले लुम्बिनी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, स्वास्थ्यमन्त्री राजु खनाल र अर्थमन्त्री धनबहादुर मास्कीसहित नवनियुक्त अध्यक्षहरूलाई समेत विपक्षी बनाएका थिए।
रिट निवेदकहरूलाई पूर्ववर्ती नेकपा एमाले नेता लिला गिरी नेतृत्वको सरकारले गएको वैशाख ३ गते अस्पताल विकास समितिको अध्यक्षमा नियुक्ति गरेको थियो।
लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष अजयमान श्रेष्ठले अहिलेको अन्तरिमकालीन आदेशले न्यायको जित भएको र अब पनि अदालतबाट न्याय हुने अपेक्षा राखेको बताए ।
कात्तिक २३ गते लुम्बिनी प्रदेश सरकारका सत्ता साझेदार दलहरूका बीचमा भागबण्डा गरी लुम्बिनी प्रदेशका १३ वटा अस्पतालमध्ये माओवादी केन्द्रले ४ र बाँकी अस्पताल कांग्रेसलगायत अन्य साना दललाई अध्यक्ष दिइएको थियो।
लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा बुटवलका जीवन ओझा, राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको अध्यक्षमा सल्यानका दीपकबहादुर शाह, प्युठान अस्पतालको अध्यक्षमा सुवास केसी, रोल्पा अस्पतालमा शेरबहादुर थापा, गुल्मी अस्पतालमा ढुण्डिराज पोख्रेल, रामपुर अस्पताल पाल्पामा श्यामकान्त खनाल र अर्घाखाँची अस्पतालमा लिलाधर बस्याललाई अध्यक्षमा नियुक्त गरिएको थियो ।
यस्तै, कपिलवस्तु अस्पतालमा शिवलाल यादव, भीम अस्पताल भैरहवामा डा।अनन्त कुमार शर्मा, पाल्पा अस्पतालमा चोपलाल गिरी, रूकुम पूर्व अस्पतालमा सुनिलकुमार रोका, पृथ्वीचन्द्र अस्पताल नवलपरासीमा दुलारी हरिजनलाई नियुक्त गरिएको थियो।