© २०२३
बुटवल, १९ मंसिर । एकीकृत समाजवादीले आगामी जेठमा मात्र महाधिवेशन गर्ने भएको छ । सोमबार बसेको केन्द्रीय सचिवालयको बैठकले माघ १४–१८ का लागि तोकिएको महाधिवेशन जेठमा सार्ने निर्णय गरेको हो ।
२०८१ सालको जेठ ३–७ काठमाडौंमा महाधिवेशन हुने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । महाधिवेशनमा पेश गर्ने दस्तावेजहरुको मस्यौदा गर्न पार्टीका अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा २७ सदस्यीय समिति बनाइएको छ ।
माघमा भने राष्ट्रिय सम्मेलन हुने भएको छ । पार्टीको विधानका कतिपय व्यवस्थामा छलफल गर्नुपर्ने भएकाले माघ १४ र १५ मा राष्ट्रिय सम्मेलन गर्ने निर्णय भएको खतिवडाले बताए ।
राष्ट्रिय सम्मेलनभन्दा अगाडि मंसिर २८ र २९ गते सचिवालय, पुस ९ गते स्थायी कमिटी, १० गते पोलिब्यूरो तथा ११ र १२ केन्द्रीय कमिटीको बैठक बोलाइएको छ ।
प्रचार विभाग प्रमुख खतिवडाका अनुसार केन्द्रीय महाधिवेशनभन्दा अगाडि प्रदेश र जिल्ला अधिवेशन हुनेछ । यसका लागि आफ्नो तयारी गर्न तल्लो कमिटीहरुलाई बाटो खुलेको छ ।