© २०२३
बुटवल,९ मंसिर । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको दोस्रो संस्करण अन्तर्गत शनिबार दुई खेल हुँदैछ।
पहिलो खेल पोखरा थण्डर्स र एफसी चितवनबीच हुनेछ भने दोस्रो खेल लुम्बिनी एफसी र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुनेछ।
यसअघि उद्घाटन खेलमा साविक विजेता काठमाडौं रेजर्स विजयी भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशाला मैदानमा साँझ काठमाडौं रेजर्सले स्पोर्टिङ इलामलाई १–० गोलअन्तरले पराजित गरेको हो।
राजीव लोप्चनले गरेको एक गोल नै काठमाडौंका लागि निर्णायक सावित भयो । राजीवले खेलको ५१औँ मिनेटमा गोल गरे ।
पुस १४ गतेसम्म चल्ने प्रतियोगितामानौ टोलीको सहभागिता छ। काठमाडौं रेजर्ससहित ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी छन्। त्यस्तै झापा एफसी, वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलाम डी मेची सहभागी छन्।
सबै टोली लिग चरणमा एकआपसमा खेलेपछि चार टिम प्लेअफमा पुग्नेछन् । प्रतियोगिताको विजेताले ७० लाख रुपैयाँ पाउने आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले जनाएको छ।