© २०२३
काठमाडौं,६ मंसिर । नेकपा एमाले केन्द्रीय कमिटीको बैठक सुरु भएको छ।
युवा संघसहित पार्टीका २३ वटा भ्रातृ तथा जनवर्गीय संगठनले काठमाडौँमा गर्न लागेको बृहत् प्रदर्शनको एक दिनअगाडि एमालेको बैठक बसेको हो।
तुल्सीलाल स्मृति हल, च्यासल, ललितपुरमा शुरु बैठकमा भोलि ७ गते काठमाडौँमा हुन लागेको प्रदर्शनका विषयमा पनि चर्चा हुनसक्ने एमालेका एक शीर्ष नेताले बताएका छन्।
भोलि मंसिर ७ गते युवा संघका इन्चार्जसमेत रहेका एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतको नेतृत्वमा काठमाडौँमा प्रदर्शन गर्ने कार्यक्रम छ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले घोषणा गरेको सरकारविरुद्धको प्रदर्शनको प्रतिवादमा उक्त प्रदर्शन गर्न लागिएको हो।
प्रसाईंले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरी व्यक्तिगत रूपमा विभिन्न आरोप लगाइरहेका छन् र प्रदर्शनको एजेन्डासमेत यसैलाई बनाएका छन्। त्यसैले आजको केन्द्रीय कमिटीको बैठकलाई चासोका साथ हेरिएको छ।
पार्टीको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टीका नेता कार्यकर्तालाई वामपन्थी एकताको कुरा नगर्न आग्रह गरेका छन् ।
०७५ मा एउटा एकता गर्दा पार्टी दुई पटक फुटेको स्मरण गर्दै उनले वामपन्थी एकता कुनै नयाँ फर्मुला नभएको बताए ।
अरुका स्वार्थको लागि काम गर्ने शक्तिहरु वामपन्थी हुन नसक्ने उनको तर्क छ ।