© २०२३
सल्यान, ६ मंसिर । छत्रेश्वरी, १ पलाटेकि ७५ बर्षिय कलावती चन्द यसपटक निकै खुसी छिन । विगतमा परिवारले सदस्यसहित करिव ४५ किलोमीटर टाढा लान्ती स्थित बैंक सम्म सामाजिक सुरक्षा भत्ता लिन जान बाध्य हुने उनी यसपटक आफ्नै वडा कार्यालयमा भत्ता पाउँदा खुसिले दंग छिन् । यस्तै मैयानी गाउँका जेष्ठ नागरिक देव बहादुर खत्री पनि आफ्नै गाउँ नजिकको वडाबाट भत्ता प्राप्त गरेपछी राहतको महसुस गरेका छन् । ७६ बर्षिय चुडामणि खत्रीले आफ्नै ठाउँमा भत्ता भुझ्ने व्यवस्था भएपछी धेरै सजिलो भएको र आगामी दिनहरूमा पनि यो व्यवस्थालाई निरन्तरता दिनुपर्ने बताए ।
छत्रेश्वरी गाउँपालिकाले मंगलबारदेखी सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीलाइ सम्बन्धित वडाबाटै भत्ता वितरण सुरु गरेको हो । १ नम्बर वडा कार्यालय मार्फत ६० बर्ष माथिका दलित जेष्ठ नागरिक, ६८ बर्ष माथिका जेष्ठ नागरिक अन्य, पुर्ण अपांगता भएका तथा अति अशक्त अपांगता भएका लाभग्राहिहरूलाइ सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो । मंगलबार वडा नम्बर १ का ९२ जना लाभग्राहिलाइ भत्ता वितरण गरिएको वडा अध्यक्ष प्रकाश हमालले जानकारी दिए ।
भत्ता वितरण सुरुवात गर्दै गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकी, उपाध्यक्ष बुद्ध कुमारी खत्री, प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगी, १ नम्बर वडा अध्यक्ष प्रकाश हमालले बैंकमा भत्ता लिन आउंदा र जाँदा भाडामानै धेरै रकम खर्च हुने, अन्य सास्ती हुने भएपछि गाउँ घरकै वडा कार्यालयबाट भत्ता वितरणको काम सुरु गरी सेवा प्रवाहमा सहजता ल्याउने प्रयत्न गरिएको बताए । आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिने उनीहरूको भनाइ छ ।
सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मा लिएको नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, लान्ती शाखाका प्रतिनिधि हृदय विष्टले गाउँपालिकाले धेरै पहिले देखि नै वडा बाटै भत्ता वितरणको लागि निर्णय र आग्रह गरेपनी प्राविधिक कार्य मिलाउन केही समय लागेको र यस पटकको सिकाइलाइ आत्मसाथ गर्दै आगामी दिनमा अझै सहज तरिकाले भत्ता वितरणको काम गरिने बताए ।
अहिले पालिकाको प्रशासकीय केन्द्र भोटेचौर नजिक लान्तीमा बैंक रहेको कारण टाढाको वडाबाट आउन जान मात्र धेरै समय लाग्ने भएपछि वडाबाटै भत्ता वितरणको प्रवन्ध मिलाइएको हो ।
सो अवसरमा वडा नम्बर १ का जनप्रतिनिधिहरू चुडामणि न्यौपाने, भिम बहादुर शाही, दिपा घर्ती, सुनिता विक लगायत सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाका कर्मचारी, अन्य कर्मचारी, सुरक्षाकर्मी, पत्रकार लगायतको पनि सहभागिता थियो । कार्यक्रमको सहजीकरण सामाजिक परिचालक गिता अधिकारीले गरेकी हुन । गाउँपालिकाले बुधबार वडा नम्बर २ को दहखोला, ७ गते वडा नम्बर ५ को लेखपोखरा, १० गते वडा नम्बर ४ को जयचौर, ११ गते वडा नम्बर ३ को मुलखोका र १२ गते वडा नम्बर ७ को राङ्सीमा भत्ता वितरण गर्नेछ ।