© २०२३
नवलपुर, २६ कात्तिक ।
पूर्वी नवलपरासीको नवलपुर दलदले बुलिङटार सडक खण्डको देवचुुली नगरपालिका गोरे घुम्तीमा आइतबार बिहान ११ः१५ बजे भएको बोलेरो जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ । दुर्घटनामा जिपमा सवार सबै ७ जनाकै मृत्यु भएको हो ।
ग १ ज ३२७० नम्बरको बोलेरो जीप अनियन्त्रित भै ओमराज अधिकारीको बन्दै गरेको घरमा ठोक्किएको थियो ।
जिल्लाको अर्खलाबाट दलदले आउँदै गरेको बोलेरो जीप देवचुली नगरपालिकाको वडा नं. ६ को गोरेघुम्तीमा सडकबाट एक सय ५० मिटर तल ओमराज अधिकारीको घरमा ठोक्किन पुगेको थियो । जीपमा सवार ७ जना मध्ये छ जनाको घटनास्थलमा नै ज्यान गएको छ भने एकजनाको उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा जिल्लाको पहाडी बौदीकाली गाउँपालिका– ६ माझडाँडा बस्ने जिप चालक वर्ष २९ का छनबहादुर आले, सोही स्थान बस्ने वर्ष ५५ का टेकमान वान्टकी, लाहटे बस्ने वर्ष ५२ की कुमारी राना, बुलिङटार गाउँपालिका– ४ चुलीबोझा बस्ने वर्ष १२ की करिश्मा ठाडा, सोही स्थान बस्ने अन्दाजी ४० वर्षकी कमला वान्टक्की, कावासोती वडा नं. १६ बस्ने बर्ष १७ का अस्बिन गैह्रे रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेद बहादुर पौडेलले जानकारी दिए ।
त्यस्तै गम्भीर घाइते मध्यबिन्दु नगरपालिका– २ मदनपुर बस्ने वर्ष १८ का चिरन अर्यालको समेत पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको नवलपुर जिल्ला प्रहरीले जानकारी दिएको छ ।