© २०२३
बुटवल,२२ कात्तिक । युनिभर्सल मेडिकल कलेज भैरहवामा अपरेसन गरेकी एक महिलाको बिभिन्न समस्या आएर मृत्यु भएपछि उपचारमा संलग्न चिकित्सकहरुलाई धम्की दिएको भन्दै नेपाल चिकित्सक संघ लुम्बिनी शाखाले आपत्ति जनाएको छ।
संघले आज एक बिज्ञप्ती जारी गरी मेडिकल कलेजमा बच्चा जन्माउने अपरेशन पश्चात बिभिन्न समस्या आएर सावित्रा खनालको मृत्यु भएको उल्लेख गर्दै सामाजिक सञ्जाल र पत्रपत्रिका मार्फत चिकित्सकहरुको बदनाम गर्ने र उपचारमा सम्लग्न चिकित्सक र उनीहरुको परिवारलाई सुरक्षाको धम्की दिने जस्ता घटनाहरु भएको दावी गर्दै यसप्रति चिकित्सक संघको ध्यानाकर्षण भएको उल्लेख गरेको छ।
नेपाल चिकित्सक संघ लुम्बिनी शाखाका अध्यक्ष डा. इन्द्र ढकाल र महासचिव डा. सन्तोष पोखरेलद्धारा जारी विज्ञप्तीमा उपचारमा चित्त नबुझे कानुनी बटोको व्यवस्था हुंदा हुंदै डाक्टरहरुको बदनाम गराउने संस्कारको विकास हुनु ज्यादै निन्दनीय भएको भन्दै चिकित्सकहरुको हक हित र सुरक्षाका लागि कानुनी बाटो अवलम्बन गर्न बाध्य हुने संघले जनाएको छ।
संघले बिज्ञप्तीमा यस्ता क्रियाकलाप बढदै गए आफ्ना सदस्यहरुको हक हित र अधिकारका लागि कानुनी बाटो अवलम्वन गर्न बाध्य हुने उल्लेख गरिएको छ।