© २०२३
बुटवल,२२ कात्तिक । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले भत्किएका र चर्किएका सबै घरहरु छिटो पुनर्निर्माण गर्नुपर्ने बताएका छन् । अधिकांश घर ढुंगा–माटोले बनेका र चर्किएका ती घरहरुले हिउंदे झरि पनि थेग्न नसक्ने भन्दै आगामी वर्षायाम अगावै सबै घर पुन निर्माण गर्नुपर्ने बताएका हुन् ।
गृहजिल्ला रुकुम पश्चिमका भूकम्प पीडितहरुको उद्धार, राहत र पुनर्स्थापनाको काममा सक्रिय शर्माले भुकम्पमा चर्किएका घरहरु आगामी वर्षायामको पहिलो झरीमै ढल्ने दावी गर्दै घरहरु पन्छाएर पुनर्निर्माण गर्नुको विकल्प नभएको बताए ।
यही कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोटसँगै छिमेकी जिल्ला रुकुमपश्चिममा पनि ठूलो जनधनको क्षति भएको छ । राष्ट्रिय आपतकालीन सञ्चालन केन्द्रको तथ्यांक अनुसार भूकम्पमा परी जाजरकोटमा १०१ जनाको मृत्यु र १४५ जना घाइते भएका छन् भने रुकुम पश्चिममा ५२ जनाको मृत्यु र २०० जना घाइते भएका छन् । यसैगरी रुकुम पश्चिममा ९ हजार ९६१ घर आंशिक रुपमा र १६ हजार ५७० घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । जाजरकोटमा भने ७ हजार १६६ घर आंशिक रुपमा र १ हजार १७० घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।
नढलेका तर चर्किएका पुराना घरहरुमा वर्षातको पानी भित्र पस्ने र पानीले माटो गलाइदिँदा ढुङ्गाहरु भत्किएर घर ढल्ने जोखिम रहेको शर्माको अनुमान छ ।