प्यालेस्टानी विद्रोही (हमास)को आक्रमणबाट इजरायलमा मारिएका सल्यानका प्रवेश भण्डारीको शव एक महिनापछी प्राप्त गरेर घरपरिवारले अन्तिम दाहसंस्कार गरेका छन् । उनको शव आइतबार सांझ परिवारलाई बुझाइएको थियो ।
इजरायलबाट काठमाण्डौं ल्याएको सल्यान शारदा नगरपालिका ३ साहुटोलका भण्डारीको शव नेपाल सेनाको हेलिकप्टर मार्फत सुर्खेत ल्याइएको थियो । सुर्खेतबाट दाङ हुदै आइतबार साँझ सल्यान ल्याएर परिवारलाई जिम्मा लगाइएको प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेलले जानकारी दिए ।
परिवारले आइतबार राती सम्म प्रवेशको शव दाहसंस्कार गरेका छन् । दाहसंस्कारमा सुरक्षा निकाय, लगायत स्थानीयको बाक्लो उपस्थिति रहेको थियो । प्रवेश यही भदौ २० गते मात्र इजरायलका हिँडेका थिए । उनी घरपरिवारको एक्लो छोरा थिए ।
बढ्दै कमाउदै कार्यक्रम अन्तर्गत सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान क्याम्पसबाट इजरायल गएकामध्ये १० जना विद्यार्थीको हमास आक्रमणमा परी ज्यान गएको थियो । नेपाली समय अनुसार गत असोज २० गते शनिबार बिहान करीब साढे ६ बजे त्यहाँ आक्रमण भएको थियो ।