© २०२३
काठमाडौं, १९ कात्तिक । नेपाल प्रहरीले मेडिकल कलेज व्यवसायी दुर्गा प्रसाईसँग पूर्व प्रधानमन्त्री तथा विपक्षी दलका नेता केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा ३ हजार करोड लगानी गरेको पुष्टि हुने प्रमाण मागेको छ ।
पूर्व प्रधानमन्त्री ओलीको सन्दर्भमा उनले लगाएका आरोप पुष्टि गर्न वा कानूनी कारवाही भोग्न दुईमध्ये एक विकल्पका लागि तयार रहन प्रहरीले प्रसाईलाई पूर्व जानकारी समेत गराएको छ ।
प्रहरीले पटकपटक उनलाई ओलीमाथि सार्वजनिकरुपमा लगाएका आरोप पुष्टि हुने केही आधार भए उपलब्ध गराउन आग्रह गर्दा उनले विभिन्न वहाना गरेर उम्किरहेका छन् । पछिल्लोपटक आईजीपी वसन्त कुँवर आफैंले फोन गरेर उनलाई आरोप प्रमाणित गर्न वा कानून बमोजिम कारवाहीको भागिदार बन्न प्रहरीसमक्ष उपस्थित हुन भनेका छन् ।
प्रसाईले आइतवार केन्द्रीय साइबर ब्यूरोमा गएर प्रारम्भिक बयान दिएका छन् । उनलाई प्रहरीले अरु नेता र विभिन्न व्यवसायीको चरित्रहत्या गर्ने ढंगले सार्वजनिक रुपमा घृणास्पद अभिव्यक्ति दिएको विषयमा पनि अनुसन्धान अघि बढाएको छ ।