© २०२३
बुटवल, १५ कात्तिक । आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पतालको २५ औं वार्षिकोत्सवको तयारी पुरा भएको छ। विहिबार बिहान १० बजेपछि हुने औपचारिक कार्यक्रमको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट उद्घाटन हुने भएको छ। वार्षिकोत्सवको तयारीबारे जानकारी दिन बुधबार गरिएको पत्रकार सम्मेलनमा ब्यवस्थापन समितिमा अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले वार्षिकोत्सवको सम्पुर्ण तयारी पूरा भएको बताए। जापानको सहयोगमा बाल मातृ स्वास्थ्यको क्षेत्रमा संचालन भएको अस्पताल लक्ष्य अनुसार सफल भएको उनले दाबी गरे। अन्य क्षेत्रभन्दा बुटवलमा फरक मोडलमा अस्पताल संचालन भएको उनले बताए । उपमहानगरपालिकाको नगरप्रमुख अध्यक्ष, उद्योग बाणिज्य संघको समेत प्रतिनिधित्व हुंदा अस्पताल ब्यवस्थित भएको उनले बताए। शुरुवातमा ५० बेडबाट सेवा शुरु गरेको अस्पताल अहिले १ सय बेडमा संचालन भैरहेको र बिरामीहरुको चापलाई मध्यनजर २ सय बेड थप गर्न लागिएको हुने उनले बताए। थप २ सय शैयाको अस्पताल भवनको भोलि प्रधानमन्त्री दाहालले शिलान्याश गर्ने कार्यक्रम रहेकोे उनले बताए । अस्पतालमा आमा सुरक्षा कार्यक्रम यसै वर्षदेखि संचालन हुने गरि नगरपालिकाबाट बजेट विनियोजित भएको नगर प्रमुख पाण्डेयले बताए।
रुपन्देही लगायत लुम्बिनी प्रदेश आसपासका जिल्ला र भारतका सिमावर्ती क्षेत्रका जनताले सेवा लिईरहेको अस्पतालको आव २०७९–८० मा ७० हजार ४ सय ८६ र पछिल्लो १० वर्षमा आव २०७०–७१ देखि आव २०७९ – ८० सम्ममा ६ लाख २१ हजार ९ सय ४२ जना बिरामीहरुले सेवा लिएका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। राजेन्द्र बस्यालले बताए । अस्पतालले आम्दा स्वस्थ्य विज्ञान प्रतिष्ठान अन्तरगत यसै शैक्षिक सत्रदेखि प्रमाणपत्र तह नर्सिङ, सामान्य चिकित्सा एचए र डिप्लोमा इन फार्मेसी गरि ३ वटा विषयमा ४० जनाका दरले १२० जना विद्यार्थी पढाउन भर्ना प्रकृया शुरु गरेको र अन्य शिक्षण संस्थाको तुलनामा २० प्रतिशत कम शुल्क कम हुने मेसु बस्यालले बताए ।
कार्यक्रममा आम्दा नेपालका अध्यक्ष अनिल कुमार दास, मुख्य प्रशासक सुरेस रेग्मीले सरोकारवालाको सुझावअनुसार अस्पतालको सेवा थप गुणस्तरीय र सर्वसुलभ बनाउंदै जाने बताए ।